काठमाडौं । स्वास्थ्य बीमा बोर्डमा बीमा कार्यक्रममा आवद्ध भएका स्वास्थ्य संस्थाहरूले आफ्नो फार्मेसी बाहिरको बिल पनि पेस गरेर दाबी भुक्तानी माग गर्ने गरेकाे भेटिएकाे छ । स्वास्थ्य बीमा बोर्डले पछिल्लाे समय आवद्ध नभएका स्वास्थ्य संस्थाकाे बिलका लागि पनि दाबी भुक्तानीका लागि आउने गरेकाे बताएकाे छ ।
बोर्डका प्रवक्ता सम्भुप्रसाद ज्ञवालीका अनुसार त्यस्तो काम सरकारी स्वास्थ्य संस्थाहरुले भन्दापनि निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाहरुले गरिरहेका छन् ।
‘आफ्नो स्वास्थ्य संस्थाको फार्मेसीको बाहेक बाहिरको बिल पनि पेस गरेर दाबी भुक्तानी गर्ने काम केही संस्थाहरुले गर्ने गरेका छन्, बोर्डले स्वास्थ्य संस्था बाहेक बाहिरबाट बिल पेस गरेको दाबी भुक्तानीको भने अहिलेसम्म भुक्तानी गर्ने काम भने गरेको छैन,’ उनले भने ।
आफ्नो फार्मेसीमा उपलब्ध नभएको औषधी र ल्याब परीक्षण बिलको पनि दाबी भुक्तानी माग गर्न थालेपछि बोर्डले सार्वजनिक सूचना निकालेर सम्बन्धित स्वास्थ्य संस्थालाई त्यसो नगर्न भनेको छ । साथै बोर्डले कतिपय स्वास्थ्य संस्थाहरुले बिमारीलाई बिलिङ नगरिदिने गुनासो पनि बोर्डमा आउने गरेको बताएको छ ।
बोर्डमा आएका गुनासाे र समस्यालाई मध्यनजर गर्दै बीमा कार्यक्रममा आवद्ध भएका स्वास्थ्य संस्थाहरुलाई आगामी साउन १ गतेदेखि समस्यालाई नदोहोर्याउन भनिएको प्रवक्ता ज्ञवालीले बताए । उनका अनुसार त्यतिबेलासम्म बीमा बोर्डमा स्वास्थ्य संस्थाभन्दा बाहिरबाट प्राप्त हुने बिलको पनि बोर्डले भुक्तानी गर्दैन।
१० १२ अर्ब ४० करोड दाबी भुक्तानी
स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षकाे हालसम्म १२ अर्ब ४० करोड बराबरको बीमा भुक्तानी गरिएको जनाएको छ । तर, अझै पनि चालु आर्थिक वर्ष अगाडिको ७ अर्ब बीमा भुक्तानी गर्न बाँकी रहेको बोर्डका प्रवक्ता ज्ञवालीले बताएका छन् ।
चालु आर्थिक वर्षमा स्वास्थ्य बीमा बापत लक्षित वर्ग सहित सबैको गरेर ३ अर्ब भन्दा धेरै रकम उठ्ने सम्भावना रहेको प्रवक्ता ज्ञवालीको भनाइ छ । जसमा ४० प्रतिशत जति लक्षित वर्गका पारिवारिक सदस्यहरु रहेका छन् । उनिहरुको प्रिमियम निःशुल्क हुने हुँदा त्यस बापतको प्रिमियम नेपाल सरकारले भुक्तानी गर्ने ज्ञवालीले बताए ।
बिगतकै दाबी भुक्तानी पेन्डिङमा रहेको कारणले बोर्डले प्रिमियम संकलनकै आधारमा दाबी भुक्तानी गर्न सक्ने अवस्था नरहेको देखिन्छ । त्यसको लागि सरकारले सम्बोधन गर्नुपर्ने हुन्छ । अहिले टिचिङ, धरान लगायतका अस्पतालको बीमा भुक्तानीको समस्या रहेको स्वीकार गर्दै ज्ञवालीले कतिपयको दाबी भुक्तानीको मागको विश्लेषणमा पनि ढिलाई भएकाले भुक्तानी ढिलाई हुन गएको बताए ।
अहिलेसम्म स्वास्थ्य बीमा कार्यक्रममा ५६ लाख नेपाली आवद्ध भएको र त्यसमा ४० प्रतिशत लक्षित वर्ग रहेका छन् । करारका कर्मचारीहरु धेरै भएको र स्वास्थ्य बीमा कार्यक्रमलाई सफलतापूर्वक कार्यान्वयन गर्ने कुरा चुनौतिपूर्ण रहेको प्रवक्ता ज्ञवालीको भनाइ छ ।