काठमाडौं । मर्जर तथा एक्विजिशन पश्चात बन्ने बीमा कम्पनीको ३० प्रतिशत सेयर सर्वसाधारणको हुनुपर्ने भएको छ । बीमा समितिले सोमबार एक परिपत्र जारी गर्दै मर्जरपछि बनेको बीमा कम्पनीको कूल जारी पुँजीको ३० प्रतिशत सेयर सर्वसाधारणको हुनुपर्ने व्यवस्था गरेको हो ।
समितिले हाल साधारण सेयर जारी गरिसकेका वा गर्न बाँकी रहेका कम्पनीहरु एक आपसमा गाभिन पाउने व्यवस्था गरेको छ । तर, गाभिएपश्चात बन्ने कम्पनीको पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणको नभएमा कम्पनीले जारी गर्नुपर्ने समितिले जनाएको छ ।
त्यस्तै, समितिबाट तोकेको बीमा कोष र अनिवार्य जगेडा कोषको अनुपात पुगेका वा नपुगेका कम्पनीहरु पनि मर्जरको लागि योग्य हुने छन् । तर सो कम्पनीहरु मर्जरपश्चात बीमा कोष र अनिवार्य जगेडा कोषको अनुपात भने बीमा समितिले तोके बमोजिमकै हुनुपर्ने छ ।
साथै, मर्जरको लागि सैद्धान्तिक सहमति पाएका कम्पनीहरुले बीमा समितिको स्वीकृति बिना उक्त सहमति आफूखुशी भंग गर्न पाउने छैन । यदि कुनै कारणबस मर्जरको लागि असहमति जनाएमा त्यसको कारण खुलाई सञ्चालक समितिको निर्णय तथा संयुक्त मर्जर तथा एक्विजिसन समितिको सहमतिसहित बीमा समितिमा निवेदन पेश भएमा मात्रै समितिले उक्त सहमति रद्द गरिदिने छ । तर, मर्जरको लागि केही कम्पनी मात्रै सहमत छन् भने पनि उक्त सहमति रद्द नहुने सम्भावना बढी हुने परिपत्रमा उल्लेख छ ।
यस्तो छ परिपत्र
[pdf id=335046]