काठमाडौं । पछिल्लो समय जीवन बीमा कम्पनीहरुले धमाधम संस्थापक सेयरधनीमार्फत रकम उठाउँदै छन् । तोकिएको पुँजी पुर्याउनको लागि नयाँ जीवन बीमा कम्पनीहरुले पहिलो चरणमा संस्थापक सेयरधनीहरु मार्फत रकम उठाउन लागेका हुन् ।
सन नेपाल लाइफ इन्स्योरेन्सले पनि संस्थापक सेयरधनीलाई थप ६० प्रतिशत रकम थप गर्न आग्रह गरेको छ । कम्पनीले मंगलबार एक सूचना जारी गर्दै आफ्ना संस्थापक सेयरधनीलाई माग गरेको हो । यससँगै उनीहरुले आगामी असार ३० गतेसम्ममा कम्पनीको कर्पोरेट कार्यालय कमलादीमा रकम जम्मा गरेको भौचरसहितको फारम बुझाउनु पर्ने छ ।
सेयरधनीले नबिल बैंक र ग्लोबल आईएमई बैंकमा रकम जम्मा गर्न सक्नेछन् । जसको लागि इन्स्यारेन्सले बैंक शाखा र खाता नम्बर दुबै उपलब्ध गराएको छ ।
हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ छ । संस्थापक सेयरधनीले थप लगानी गरेपछि इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २४ करोड रुपैयाँ पुग्ने छ ।
बीमा समितिले जीवन बीमा कम्पनीलाई २०७९ चैत मसान्तसम्ममा न्यूनतम ५ अर्ब रुपैयाँ बराबरको चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ । संस्थापकसँग ६० प्रतिशत रकम संकलन गरेपछि कम्पनीलाई तोकिएको पुँजी पुर्याउन २ अर्ब ७६ करोड रुपैयाँ आवश्यक पर्छ । त्यसको लागि कम्पनीले पहिला सर्वसाधारणमा आईपीओ जारी गर्ने छ भने त्यसपछि मर्जरमा जाने कम्पनीको योजना छ ।
हाल महालक्ष्मी लाइफ इन्स्योरेन्सले पनि आफ्ना संस्थापकहरु मार्फत चुक्ता पुँजीको ५० रकम उठाइरहेको छ ।