काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताका मागबारे अर्थमन्त्रालय सिरियस भएको बताएका छन् । मंगलबार बोर्डले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अर्थमन्त्रालय लगानीकर्ताका मागप्रति सिरियस भएको बताएका हुन् ।
उनले लगानीकर्ताका माग पुरा गर्न आफु सकारात्मक भएको पनि धारणा राखे । उनले अधिकांश मागहरु कार्यान्वयनको चरणमा गइसकेकाे र तत्काल कार्यान्वयन गर्न नसकिने मागहरु विस्तारै छलफलको माध्यमबाट पुरा गर्ने बताए ।
‘अर्थमन्त्रालय लगानीकर्ताको मागप्रति सिरियस देखेको छु, राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयरधितो कर्जामा ४/१२ करोडको व्यवस्था गर्दा सेयर बजार घटेको विज्ञहरुको भनाइ छ, यसलाई सच्याउनु पर्छ, सबैले लगानीकर्ताको हितमा काम गर्नु पर्छ,’ उनले भने ।
उनले सबैले वित्तीय सामुहिक हितको काम गर्नु पर्ने धारणा राखे । ‘हामी बोलेका कुरा कार्यान्वयन गर्न तयार छौं, काम गर्ने वातावरण दिनु पर्यो, अधिकांश माग कार्यान्वयनको चरणमा पनि गइसकेका छन,’ उनले भने ।
यस्तै, उनले लगानीकर्ताका अधिकांश माग ३ महिनाभित्रै कार्यान्वयन हुने बताएका छन् । लगानीकर्ताको केही माग सम्बोधनको चरणमा गइसकेको र अब केही मागहरु ३ महिनाभित्रै पुरा हुने उनकाे भनाइ छ ।
‘अहिले केही माग कार्यान्वयनको चरणमा गइसकेका छन्, अब तीन महिनाभित्र अधिकांश मागहरु कार्यान्वयन हुन्छन्, सबैले लगानीमैत्री वातावरण बनाउनु पर्छ, काम गर्न पनि दिनु पर्छ,’ उनले कार्यक्रममा भने ।
कार्यक्रममा उनले कुनै पनि कम्पनी मर्जर तथा एक्विजिसनको नाममा अब सेयर कारोबार रोक्का नहुने पनि बताए । उनले मर्जर तथा एक्विजिसनको नाममा लामो समय कम्पनीको सेयर कारोबार रोक्का भइरहेको बताउँदै अब साउनदेखि सेयर काराेबार रोक्का नहुने बताएका हुन् ।
‘अहिले कम्पनीको मर्जरको नाममा महिनौं, वर्षौंसम्म सेयर कारोबार रोक्का भइरहेको छ, अब साउनदेखि कुनै पनि कम्पनीको सेयर कारोबार रोक्का हुँदैन, यसका लागि हामीले केही गृहकार्य गरिरहेका छौं,’ उनले भने ।
उनले विश्वका अन्य देशमा सेयर लगानीकर्ता आन्दोलन गर्दै सडकमा नआउने भन्दै नेपालमा यस्तो अवस्था आउनु दुःखद् भएको धारणा राखे । उनले पुँजीगत लाभकर समेत घटाउने विषयमा अर्थमन्त्रीसँग छलफल भइरहेको, कम्पनीहरुको शाखा बिस्तारको काम पनि भइरहेको पनि जानकारी दिए ।