काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर रुपमा घटिरहेको छ । बजार घटेसँगै दोश्रो बजारमा सूचीकृत कम्पनीका सेयर मूल्य पनि दिनानुदिन घट्दो क्रममा छन् ।
यो अवधिमा विभिन्न समूह अन्तर्गतका कम्पनीको सेयर मूल्य न्यूनतम मूल्यमा झरिसकेका छन् । नेप्सेका अनुसार असार पहिलो सातासम्मा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, हाइड्रो, होटल र इन्भेष्टमेन्ट समूहका अधिकांश कम्पनीका सेयर मूल्य न्यूनतम मूल्यमा किनबेच भइरहेको छ ।
बिहीबार कारोबारमा आएका १९५ कम्पनीमध्ये २१ कम्पनीको सेयर मूल्य २ सयभन्दा तल झरिसकेको छ । जसमा वाणिज्य बैंकमध्ये ५ कम्पनीको सेयर २०० रुपैयाँभन्दा सस्ता भएका छन् । जसमा लक्ष्मी बैंकको १९८.८०, कुमारी बैंकको १९४, सिभिल बैंकको २००.७०, सेञ्चुरी कमर्शियल बैंकको १८३.५० र सनराइज बैंकको प्रतिकित्ता १९८ रुपैयाँ रहेको छ । जसमध्ये कुमारी, सेञ्चुरी र सनराइज बैंकको सेयर मूल्य हालसम्मकै न्यूनतम मूल्य हो ।
इन्भेष्टमेन्ट समूह अन्तर्गतको हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको सेयर मूल्य प्रतिकित्ता १८१ रुपैयाँमा झरेको छ । जसको सेयर प्रतिकित्ता ५७५ रुपैयाँसम्म कारोबार भएको छ ।
त्यस्तै, सेयर भाउ २०० भन्दा तल हुनेमा अधिकांश हाइड्रो कम्पनी रहेका छन् । असार ९ गतेसम्मको कारोबारमा १० वटा हाइड्रोको सेयर मूल्य प्रतिकित्ता २०० रुपैयाँ भन्दा कम छ ।
जसमा यूनियन हाइड्रोको १७५.९०, हिमाल दोलखा हाइड्रोको १७४.३०, घलेम्दी हाइड्रोको १९०.६०, जोशी हाइड्रोको १७१, आँखुखोला जलविद्युत कम्पनी १७४.५०, मध्यभोटेकोशी जलविद्युत कम्पनी २००, यूनिभर्सल पावर कम्पनी १८६, दिव्यश्वरी हाइड्रोको १७६.९०, खानी खोला हाइड्रोको १८० र पञ्चकन्या माई हाइड्रो प्रतिकित्ता १८७ रुपैयाँ रहेको छ ।
त्यस्तै, होटल्स समूह अन्तर्गतको सोल्टी होटलको सेयर भाउ घटेर प्रतिकित्ता १८९.१० रुपैयाँमा झरेको छ । जुन न्यूनतम मूल्यको हाराहारीमा छ । यसअघि होटलको सेयर प्रतिकित्ता १८६ रुपैयाँसम्ममा किनबेच भएको थियो ।
दुई फाइनान्स र दुई विकास बैंकको सेयर मूल्य सस्तिएका छन् । जसमा सम्वृद्धि फाइनान्स र प्रोगेसिभ फाइनान्स रहेका छन् । बिहीबार यी दुई कम्पनीको सेयर क्रमशः प्रतिकित्ता १८८ र १९९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । जसमध्ये सम्वृद्धि फाइनान्सको सेयर भाउ हालसम्मकै कम हो भने प्रोगेसिभको न्यूनतम मूल्यका हाराहारीमा पुगेको छ ।
त्यसैगरी सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर प्रतिकित्ता १८९ र ग्रीन डेभलपमेन्ट बैंकको सेयर प्रतिकित्ता १९५ रुपैयाँमा झरेको छ ।
घट्दो बजारमा लगानीकर्ताहरु प्यानिकमा सेयर बिक्री गर्न बाध्य भएपछि त्यसको असर मूल्यमा परेको हो । बैंक तथा वित्तीय संस्थाबाट आउने मार्जिन कलको डरले पनि लगानीकर्ताहरु प्यानिकमा सेयर बिक्री गर्न बाध्य भएका हुन् ।
नेपाली बजारको परिसूचक उच्चतम बिन्दुबाट ४२ प्रतिशत तल झरिसकेको छ । २०७८ भदौमा ३१९९ को उच्चतम बिन्दुमा पुगेको परिसूचक २०७९ असारमा १८४८.२८ बिन्दुमा झरेको छ ।