काठमाडौं । बीमा समितिले बीमितको मृत्युदरको तथ्याङक अद्यावधिक गर्न बीमा कम्पनीलाई निर्देशन दिएको छ । जीवन बीमालेखसँग सम्बन्धित नेपाली बीमितको मृत्युदर तालिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्दै समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले कम्पनीहरुलाई सो निर्देशन दिएका हुन् ।
वि.सं. २०६६ सालमा तयार भई हाल कार्यान्वयनमा रहेको नेपाली बीमितको मृत्युदर तालिका, २०६६ लाई समयसापेक्ष अद्यावधिक गर्ने उद्देश्यले गरिएको प्रारम्भिक अध्ययनका बारेमा छलफल गरी सुझावहरु लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा अध्यक्ष सिलवालले बीमाप्रतिको विश्वास बढाउँदै बीमा व्यवसायलाई विस्तार गर्न र बीमितको हितको रक्षा गर्न समेत यस किसिमका अध्ययन आवश्यक रहेको उल्लेख गरे ।
अध्यक्ष सिलवालले वि.सं. २०६६ सालमा बीमितको मृत्युदर तालिका तयारी भई कार्यान्वयनमा रहेको र यस अवधिमा दुई पटक राष्ट्रिय जनगणना समेत भई औषत मृत्युदर सम्बन्धी तथ्याङ्क सार्वजनिक भइसकेको बताए । साथै, बीमितको मृत्युदर र तालिकालाई समयसापेक्ष परिमार्जन गर्नु आवश्यक रहेको उनले औंल्याए ।
बीमा समितिका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले नेपाली बीमितको मृत्युदर तालिकालाई समयसापेक्ष अद्यावधिक गर्ने उद्देश्यले यससम्बन्धी प्रारम्भिक अध्ययन गरिएको जानकारी दिए ।
जीवन बीमक संघ नेपालका उपाध्यक्ष पोषकराज पौडेलले बीमा समितिले बीमितको मृत्युदर तालिका परिमार्जन गर्न लागेबाट उपयुक्त बीमाशुल्क निर्धारणका साथै समग्र जीवन बीमा व्यवसायको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
बीमा समितिका परामर्शदाता बीमाङ्की प्रेक्षा माथेमाले बीमितको मृत्युदर अनुसन्धान संयन्त्र र बीमाङ्की विज्ञान विषयमा अध्ययरत विद्यार्थीहरु रुस्तम लवाजुले विभिन्न देशका बीमितको मृत्युदर तालिका तथा मुलुक पौडेल र सागर निरौलाले बीमितको मृत्युदर तालिकाका लागि आवश्यक तथ्याङ्क सम्बन्धी विषयमा प्रस्तुति गरेका थिए ।