टीएमएस चलाउन ब्रोकरलाई तीन विकल्प

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जले धितोपत्र दलाल व्यवसायी (ब्रोकर) लाई टीएमएस चलाउन अब तीन वटा विकल्पहरु दिएको छ । धितोपत्र कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालन कार्यविधि २०७९ को तेश्रो पटक संसोधन गर्दै नेप्सेले ब्रोकरलाई विभिन्न विकल्पहरु दिएको हो । नेप्सेले दिएको तीन विकल्पमध्ये पहिलोमा नेप्सेकै टीएमएस प्रणाली प्रयोग गर्ने, दोश्रोमा ब्रोकर आफैले आफ्नै प्रणाली विकास [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जले धितोपत्र दलाल व्यवसायी (ब्रोकर) लाई टीएमएस चलाउन अब तीन वटा विकल्पहरु दिएको छ । धितोपत्र कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालन कार्यविधि २०७९ को तेश्रो पटक संसोधन गर्दै नेप्सेले ब्रोकरलाई विभिन्न विकल्पहरु दिएको हो ।

नेप्सेले दिएको तीन विकल्पमध्ये पहिलोमा नेप्सेकै टीएमएस प्रणाली प्रयोग गर्ने, दोश्रोमा ब्रोकर आफैले आफ्नै प्रणाली विकास गर्ने र तेश्रो विकल्पमा टीएमएस प्रणाली खरिद गर्ने रहेका छन् । जसमध्ये अब ब्रोकरले कुनै एक विकल्पप्रयोग गरेर कारोबार गर्न गराउन सक्नेछन् । हाल भने ब्रोकरले नेप्सेले तयार गरेको टीएमएस नै प्रयोग गरिरहेका छन् ।

तर यीमध्ये कुनै विकल्पमा जानको लागि ब्रोकरले नेप्सेको अनुमति लिनु पर्ने छ । जसको लागि ब्रोकरले नेप्सेमा विभिन्न विवरणसहित निवेदन दिनुपर्ने छ । जसमा ब्रोकरले आफूसँग भएको प्राविधिक क्षमता, जनशक्तिको व्यवस्था, प्रणाली विकास वा खरिद प्रयोजनको विस्तृत विवरण उल्लेख गर्नुपर्ने जनाइएको छ ।

‘नेप्सेको कारोबार व्यवस्थापन प्रणाली प्रयोग गरिरहेका कारोबार सदस्यले यो कार्यविधि लागू भएको तीस दिनभित्र विनियमावलीमा तोकिए बमोजिमको दस्तुरसहित निवेदन दिनुपर्ने छ,’ संशोधित कार्यविधिमा भनिएको छ ।

यससँगै, ब्रोकरले आफुले चलाउने सफ्टवेयरको प्राविधिक तथा सुरक्षाको बारेमा नेप्सेलाई प्रस्तुतीकरण दिनुपर्ने छ । साथै, एकभन्दा बढी ब्रोकरले एउटै प्रणाली प्रयोग गर्न चोहेमा पनि नेप्सेलाई प्रस्तुतीकरण दिनुपर्ने जनाइएको छ । त्यसपछि नेप्सेले ब्रोकरले दिएको प्रस्तुतीकरण र विवरण उपयुक्त लागेमा सो अनुसारको प्रणाली एक महिनाभित्र जडान तथ प्रयोगको लागि एपीआई डकुमेन्ट प्रदान गर्न सैद्धान्तिक सहमति दिने छ ।

त्यस्तै, यदी ब्रोकरले आफ्नै प्रणाली विकास तथा खरीद गर्न चाहेमा उसले प्रणाली विकास गर्ने वा उपलब्ध गराउने कम्पनीबीच सम्झौता गर्नुपर्छ । र, त्यसको जानकारी नेप्सेलाई दिनुपर्ने छ । सम्झौतामा कारोबार प्रणालीको स्पेसिफिकेसन, वार्षिक मर्मत सम्झौता (एएमसी) बिजनेस कन्टिन्युटी प्लान (बिसिपी), ट्रबल सुटिङ लगायतका प्राविधिक सुरक्षा सम्बन्धी विषय उल्लेख हुनुपर्ने छ ।

आफ्नै छुट्टै प्रणाली प्रयोग गर्नेले नेप्सेको प्रणालीमा जोड्नुअघि नै सो प्रणाली मान्यता प्राप्त तेश्रो पक्षबाट परीक्षण (अडिट) गराउनुपर्ने छ । उक्त अडिट उपयुक्त लागेमा नेप्सेले ब्रोकरलाई परीक्षणको रुपमा ब्रोकरको प्रणाली जडान गर्न एपीआई प्रदान गर्ने छ । जुन एपीआई अर्को ब्रोकरले प्रयोग गर्न पाउँदैनन् ।

कम्तीमा एक महिनाको परीक्षणको अवधिमा कुनै समस्या नआएमा ब्रोकरले सो प्रणाली नियमित रुपमा प्रयोग गर्न अनुमति पाउने छ ।

कर्मचारीले स्नातक पास गरेको हुनुपर्ने

ब्रोकरले उक्त प्रणाली चलाउनको लागि सूचना प्रविधिसम्बन्धी दुई जना कर्मचारीको व्यवस्था गर्नुपर्छ । जसमध्ये सिस्टम एण्ड नेटवर्क एडमिनिस्ट्रेटर तथा डाटाबेस एडमिनिस्ट्रेटरमा एक जना र सहायक कर्मचारीमा एक जना हुनै पर्ने व्यवस्था छ ।

यीमध्ये सिस्टम एण्ड नेटवर्क एडमिनिस्ट्रेटरले मान्यता प्राप्त विश्वविद्यालयबाट सम्बन्धित (कम्प्युटर इन्जिनियरिङ्ग, कम्प्युटर विज्ञान, सूचना प्रविधि व्यवस्थापन वा सो सरहको) विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्ने छ । र, सम्बन्धित विषयमा तीन वर्ष काम गरेको अनुभव समेत हुनुपर्ने छ । त्यस्तै, सो विषयमा स्नातक तह पास गरेको तर कामको अनुभव नभएकाहरु भने सहायक कर्मचारी बन्न पाउने छन् ।

Share News