आर्थिक मन्दीबीच २५ प्रतिशतले बढ्दै बीमा बिजनेश

<p>काठमाडौं । पछिल्लो समय नेपालको आर्थिक अवस्था खस्कँदो अवस्थामा छ । अर्थतन्त्रका सूचकहरु जस्तै विनिमय सञ्चिति तथा मुद्रास्फितीमा दबाब छ । बजारमा तरलताको दबाब छ । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले पनि अहिले नेपालको अर्थतन्त्र संकटमा रहेको धारणा व्यक्त गर्दै आएका छन् । जसको सामना गर्न अर्थतन्त्रका लागि जिम्मेवार सबै पक्षहरु आ-आफ्ना दायित्वमा इमान्दार बन्न [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय नेपालको आर्थिक अवस्था खस्कँदो अवस्थामा छ । अर्थतन्त्रका सूचकहरु जस्तै विनिमय सञ्चिति तथा मुद्रास्फितीमा दबाब छ । बजारमा तरलताको दबाब छ ।

राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले पनि अहिले नेपालको अर्थतन्त्र संकटमा रहेको धारणा व्यक्त गर्दै आएका छन् । जसको सामना गर्न अर्थतन्त्रका लागि जिम्मेवार सबै पक्षहरु आ-आफ्ना दायित्वमा इमान्दार बन्न आवश्यक रहेको उनको भनाई छ ।

अर्थतन्त्रको ऐना मानिने सेयर बजार निरन्तर घट्दो छ । बैंकहरुसँग लगानीयोग्य रकम छैन । आयात उल्लेख्य रुपमा बढ्दो छ । विदेशी मुद्राको सञ्चिती भने घट्दो क्रममा छ । यससँगै आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्न सक्ने समेत गर्भनर अधिकारीले सूचित गराइसकेका छन् ।

तर यता बीमाको व्यवसाय भने फस्टाउँदै गएको छ । यो वर्ष गत वर्षकोभन्दा बढी बिजनेश भइरहेको जीवन तथा निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारीहरु बताउँछन् । र, चालु आर्थिक वर्षको अन्त्यमा कम्पनीहरुको व्यवसाय औषतमा २० देखि २५ प्रतिशतसम्म बढ्ने उनीहरुको अनुमान छ ।

निर्जीवन बीमा व्यवसाय गर्दै आएको सगरमाथा इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्ममा २ अर्ब ६१ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको थियो । जसको तुलनामा अहिले चालु आर्थिक वर्ष २०७८/७९ मा कम्पनीको बिजनेस २० प्रतिशतले ग्रोथ भइसकेको सीईओ चंकी क्षेत्री बताउँछन् ।

‘बिजनेस राम्रै छ, गत वर्षको तुलनामा २० प्रतिशत ग्रोथ छ,’ सीईओ चंकी क्षेत्रीले विकासन्युजसँग भने ।

नेपाल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेल पनि कम्पनीको व्यवसाय बढ्दो क्रममा रहेको बताउँछन् ।

‘बिजनेशमा पोहोरको भन्दा ग्रोथ नै छ, सम्भवतः यो वर्ष २५ प्रतिशतले बढ्ने देखिन्छ’ उनले भने ।

डिसीईओ पोखरेलका अनुसार २०७८ असारमा १ अर्ब २७ करोड रुपैयाँ रहेको नेपाल इन्स्योरेन्सको बीमाशुल्क हालसम्ममा बढेर १ अर्ब ४५ करोड रुपैयाँ पुगिसकेको छ ।

यता जीवन बीमा व्यवसाय गर्दै आएको महालक्ष्मी लाइफ इन्स्योरेन्सको हकमा पनि कम्पनीको बिजनेस राम्रो रहेको र खासै चिन्ता नभएको सीईओ रमेश कुमार भट्टराई बताउँछन् । गत आर्थिक वर्षमा इन्स्योरेन्सको खुद बीमाशुल्क १ अर्ब २३ करोड रुपैयाँ थियो भने कूल बीमाशुल्क २ अर्ब ६१ करोड रुपैयाँ थियो ।

तर चालु वर्षमा कम्पनीहरुको रिपोर्ट त्यत्ति उत्साहजनक नहुने पनि सीईओ भट्टराईले बताए । मुलुकको आर्थिक अवस्था खस्कँदै गएकोले पनि त्यसको असर कम्पनीहरुमा पनि पर्ने उनको भनाई छ । त्यसैले अहिले कम्पनीहरुले विकास सोच्ने भन्दा पनि कसरी सस्टेन हुने भन्ने तिर लाग्नुपर्ने उनले जनाए ।

बीमा समितिको तथ्यांकअनुसार जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०७७/७८मा कूल १ खर्ब २१ अर्ब १२ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका थिए । त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुले कूल ३१ अर्ब ८१ करोड रुपैयाँ बराबरको बीमाशुल्क अर्थात बिजनेस गरेका समितिको तथ्यांकले देखाउँछ ।

Share News