काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सरकारले विपद्का समयका लागि छुट्याएको रकमबाट नागरिकको जीवन तथा सम्पत्तिको बीमा गर्न सकिने बताएका छन् । असार १५ गते लुम्बिनी प्रदेश सरकारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो बताएका हुन्
साथै, त्यसरी गरिएको बीमाबाट नै विपद्का समयमा हुने क्षतिको क्षतिपूर्ति हुने उनले जानकारी दिए ।
अध्यक्ष सिलवालले प्रदेश सरकारले नागरिकका साथै सरकारी सम्पत्तिको बीमा गराउन पहल गर्नुपर्ने उल्लेख गर्दै बीमालाई सेवा प्रवाहसँग जोडेर पनि बीमाको पहुँच विस्तार गर्न सकिने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले बीमा सम्बन्धी नीतिगत व्यवस्थाका साथ धेरै कार्यक्रमहरु ल्याएको र अब ती कार्यक्रमहरुको कार्यान्वयनमा जोड दिने बताए ।
मुख्यमन्त्री केसीले बीमा कम्पनीहरुबाट बीमा दाबी भुक्तानी नभएको भन्ने धेरै गुनासाहरु आउने गरेको उल्लेख गर्दै समयमै सहजरुपमा बीमा दावी पाउने व्यवस्था गर्न र बीमा कम्पनीहरुमा सुशासन कायम गर्न आग्रह गरेका छन् ।
उनले बीमाको दायरा विस्तारका लागि बीमा सम्बन्धी जनचेतना अभिवृद्धिमा जोड दिन र बीमा समितिको प्रदेश कार्यालय विस्तार गर्न पनि आग्रह गरेका छन् ।
कार्यक्रममा बीमा समितिका निर्देशक सुशीलदेव सुवेदीले बीमा सम्बन्धी समग्र विषयवस्तु समेटिएको प्रस्तुती गरेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न मन्त्रालयका मन्त्री, मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयका प्रमुख सचिव, विभिन्न प्रदेश मन्त्रालयका सचिव, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, सगरमाथा इन्सुरेन्स कं.लि. का प्रमुख कार्यकारी अधिकृत, बीमा समितिका सहायक निर्देशक केदारनाथ भट्ट, विभिन्न बीमा कम्पनीका प्रदेशस्थित शाखा कार्यालयका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।