बीमाशुल्कमा शिखर र बीमालेखमा नेकोको अग्रता कायमै (सूचीसहित)

<p>काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले जेठ महिनासम्म ३४ अर्ब बढी बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार उनीहरुले चालु आर्थिक वर्षको ११ महिनामा ३४ अर्ब १५ करोड ८८ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् । समीक्षा अवधिमा २० वटा कम्पनीले २५ लाख १७ हजार ३१५ वटा बीमालेख जारी गरी सो मात्राको बीमाशुल्क आर्जन [&hellip;]</p>

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले जेठ महिनासम्म ३४ अर्ब बढी बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार उनीहरुले चालु आर्थिक वर्षको ११ महिनामा ३४ अर्ब १५ करोड ८८ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।

समीक्षा अवधिमा २० वटा कम्पनीले २५ लाख १७ हजार ३१५ वटा बीमालेख जारी गरी सो मात्राको बीमाशुल्क आर्जन गरेका हुन् ।

सबैभन्दा बढी बीमाशुल्क आर्जनमा शिखर इन्स्योरेन्सको अग्रता कायमै छ । इन्स्योरेन्सले २ लाख १२ हजार १८८ वटा बीमालेख जारी गरी ४ अर्ब ४० करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको समितिले जनाएको छ ।

त्यस्तै, बढी बीमाशुल्क आर्जनको दोश्रोमा सगरमाथा इन्स्योरेन्स छ । जसलाई नेको इन्स्योरेन्सले पछ्याइरहेको छ । सगरमाथाले २ अर्ब ७९ करोड र नेकोले २ अर्ब ६१ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।

दुई अर्बभन्दा बढी बीमाशुल्क संकलन गर्नेको सूचीमा सिद्धार्थ र एनएलजी इन्स्योरेन्स पनि छन् । उनीहरुले ११ महिनामा क्रमशः २ अर्ब २४ करोड र २ अर्ब १० करोड रुपैयाँ बराबरको प्रिमियम उठाएका छन् ।

यता एक अर्बभन्दा बढी र दुई अर्बभन्दा कम बीमाशुल्क संकलन गर्नेमा अधिकांश कम्पनी छन् । २० कम्पनीमध्ये सो रेञ्जमा १२ वटा कम्पनी पर्छन् । त्यसमा पनि सबैभन्दा बढी प्रिमियर इन्स्योरेन्सको १ अर्ब ९२ करोड र कम एभरेष्ट इन्स्योरेन्सको १ अर्ब ११ करोड रुपैयाँ बराबरका छन् ।

एक अर्बभन्दा कम बीमाशुल्क संकलन गर्नेमा तीन कम्पनी छन् । सानिमा जनरल, जनरल र नेशनल इन्स्योरेन्सले ११ महिनाको अवधिमा एक अर्बभन्दा कम प्रिमियम उठाएका छन् । जसमध्ये सानिमाले ९० करोड, जनरलले ८१ करोड र नेशनल इन्स्योरेन्सले ८० करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।

समीक्षा अवधिमा नेको इन्स्योरेन्सले सबैभन्दा बढी बीमालेख जारी गरेको छ भने कम जारी गर्नेमा नेशनल रहेको छ । ११ महिनाको अवधिमा नेकोले २ लाख ४६ हजार ३०४ वटा बीमालेख जारी गर्दा नेशनलले २१ हजार ६५ वटा बीमालेख जारी गरेको छ ।

Share News