काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघ र नेपाल उद्योग परिसंघबीच मर्जर सम्भव भएको बताएका छन् । उनले आफू महासंघको अध्यक्ष भएपछि दुई संस्थाबीच मर्जको लागि पहल गर्ने पनि बताएका छन् ।
सोमबार कान्तिपुर दैनिकमा प्रकाशित अन्तरवार्तामा उनले यस्तो विचार राखेका छन् ।
‘तपाईंका आफ्नै भाइ हेमराज ढकाल महासंघजस्तै अर्को निजी क्षेत्रको संस्था नेपाल उद्योग परिसंघ (सीएनआई) उपाध्यक्ष हुनुहुन्छ, थप नेतृत्वमा आउने क्रममा हुनुहुन्छ, सम्भवतः तपाईं अध्यक्ष हुँदा उहाँ पनि माथिल्लो पदमा पुग्न सक्नुहुन्छ, महासंघमा तपाईंको नेतृत्वकालमा निजी क्षेत्रका संस्था मर्जर गर्ने सोच छ कि ?’ भन्ने प्रश्नको जवाफमा ढकालले मर्जरको लागि आफूले पहल गर्ने र त्याे सम्भव भएकाे बताएका हुन् ।
‘निजी क्षेत्र विभिन्न संगठनमा छरिएर बस्नुको साटो एउटै संगठनमा आबद्ध हुँदा राम्रो हुन्छ । यसमा मेरो पहल हुनेछ । यो निजी क्षेत्रको खाँचो पनि हो । यसअघि म रोजगारदाता परिषद्को सभापति हुँदा पनि सीएनआईलगायत संगठनलाई एकै ठाउँमा राखेर छलफल गरेको छु । यी कामलाई म नेतृत्वमा रहँदा पनि निरन्तरता दिनेछु । मर्जर नै गर्ने कुरा मैले मात्र चाहेर हुँदैन । अरू संगठन पनि सकारात्मक रूपमा आए भने मर्जर सम्भव छ । सम्भव नभए पनि सहकार्य गरेर अघि बढ्नुपर्छ’ उनले भनेका छन् ।
उनले महासंघको नयाँ नेतृत्व सर्बसहमत बनाउन र कार्यसमितिको कार्यकाल घटाउन पनि पहल गर्ने बताएका छन् । आगामी चैतमा ढकाल महासघको अध्यक्ष बन्दैछन् । उनी अध्यक्ष भएकाे बेलामा भाइ हेमराज ढकाल परिसंघमा बरिष्ठ उपाध्यक्ष बन्न सम्भावना छ ।