काठमाडौं । २०६३ सालदेखि धितोपत्र व्यवसायी मर्चेन्ट बैंकरको रुपमा काम गर्दै आएको संस्था हो, ग्लोबल आईएमई क्यापिटल । नेपाल राष्ट्र बैंकको इजाजत पाई वित्तीय कारोबार गर्दै आएको क्यापिटल ग्लोबल आईएमई बैंकको सहायक कम्पनीका साथै योजना व्यवस्थापक समेत हो ।
विगत १६ वर्षदेखि निरन्तर रुपमा वित्तीय सेवा दिइरहेको क्यापिटलले हालै बजारमा नयाँ योजना ल्याएको छ । क्यापिटलले ग्लोबल आईएमई बैंक म्युचुअल फण्ड अन्तर्गत ‘ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १’ नामक नयाँ म्युचुलअ निष्काशन तथा बिक्री खुला गरेको छ । जसको आकार १ अर्ब २० करोड रुपैयाँ बराबरको छ ।
निष्काशित इकाईमध्ये बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाईमध्ये योजना व्यवस्थापक कम्पनी ग्लोबल आईएमई क्यापिटललाई १.५ प्रतिशत तथा इकाई तथा कोष प्रवद्र्धक कम्पनीलाई ग्लोबल आईएमई बैंकलाई १३.५० प्रतिशत बिज पुँजीको रुपमा राखेको छ । र, बाँकी रहेको न्यूनतम १० करोड २० लाख इकाई क्यापिटलले सार्वजनिक रुपमा बिक्रीको लागि खुला गरेको हो ।
यो बन्दमुखी प्रकृतिको योजना हो । जसको अवधि १० वर्षको रहेको छ । अर्थात १० वर्षपछि यो योजना स्वतः परिपक्व हुने छ । साथै, नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा पनि सूचीकृत हुने क्यापिटलले जानकारी गराएको छ ।
यो योजनामा नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र (परिचय पत्र जारी भएका व्यक्ति, प्रचलित कानून बमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरु जस्तै सञ्चय कोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष आदिले आवेदन दिन सक्ने छन् । उक्त फण्डमा इच्छुकले न्यूनतम एक सयदेखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।
असार २२ गतेदेखि निष्काशन भएको यो फण्डमा इच्छुकले छिटोमा असार २६ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि, उक्त अवधिमा माग अनुसारको बिक्री नभएमा आगामी साउन ४ गतेसम्म आवेदन खुला गरिने क्यापिटलले जनाएको छ । आवेदकले न्यूनतम एक सय इकाई तथा सोभन्दा माथि १० ले भाग जाने गरी अधिकतम एक करोड बीस लाख ईकाइसम्म खरिदका लागि आवेदन दिन सक्नेछन् ।
यस्तो छ विशेषता
नाम नै व्यालेन्स्ड फण्ड रहेको यो योजनाले ५० प्रतिशत निक्षेपमा र ५० प्रतिशत सेयर बजारमा लगानी गर्ने छ । बढी गरेमा ६० प्रतिशतसम्म लगानी गर्न सकिने क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकाल बताउँछन् ।
हाल बजारमा तीन प्रकारका फण्डहरु छन् । हाइब्रिड, इन्कम र ब्यालेन्स्ड । यीमध्ये क्यापिटलले योभन्दा अगाडि ग्लोबल आईएमई म्युचुअल फण्ड अन्तर्गत समुन्नत योजना (इन्कम फण्ड) ल्याएको थियो भने अहिले ब्यालेन्स्ड फण्ड ल्याएको छ । जुसको प्रकृति फरक छ ।
‘अहिलेको नयाँ योजना अन्तर्गत लगानी गर्दा कम्पनी छानेर दोश्रो बजारमा लगानी गर्छौं, त्यसमा कम्पनीको प्रकृति, नाफा, कम जोखिम, धेरै उतारचढाव नआउने लगायतका विभिन्न सूचक हेरेर लगानी गर्छौं, त्यसमा यो क्षेत्रमा मात्रै लगानी गर्छौं भन्ने छैन ’ ढकालले विकासन्युजसँग भने ।
कहाँ कहाँ गर्छ लगानी ?
यो योजनाबाट क्यापिटलले विभिन्न क्षेत्रमा लगानी गर्ने छ । क्यापिटलले बोर्डमा दर्ता भएका कम्पनी, आईपीओ जारी गरेका कम्पनी, धितोपत्र विनिमय बजारमा सूचीकृत धितोपत्र, बैंक निक्षेप, मुद्रा बजार उपकरण र धितोपत्र बोर्डले तोकिदिएको अन्य क्षेत्रमा लगानी गर्ने छ । साथै, नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी बील तथा मुद्रा बजारका अन्य साधनहरुमा लगानी गर्ने क्यापिटलको लक्ष्य छ ।
लगानीकर्तालाई ११९ प्रतिशतभन्दा बढी प्रतिफल
यो योजनामा लगानी गर्ने लगानीकर्ताले न्याभ बाहेक ११९ प्रतिशतभन्दा बढी प्रतिफल पाउनेछन् । १० वर्षे अवधिको यो योजनामा लगानी गर्नेलाई क्यापिटलले सो अवधिभरमा ११९.५ प्रतिशत प्रतिफल वितरण गरिने प्रक्षेपण गरेको छ । साथै, क्यापिटलले दिने वार्षिक न्याभ समेत जोड्ने हो भने यो प्रतिफलको दर बढ्ने छ ।
यो फण्डमा लगानी गर्ने लगानीकर्ताले पहिलो तीन वर्षसम्म लगातार ७.५ प्रतिशत लाभांश (वार्षिक रुपमा) पाउने छन् । त्यस्तै, चौथो र पाँचौं वर्षमा १०/१० प्रतिशतको दरले लाभांश पाउने छन् । छैटौंमा र सातौंमा १४/१४, आठौं र नवौंमा १६/१६ प्रतिशत र अन्तिम अर्थात दश वर्षमा १७ प्रतिशत लाभांश लगानीकर्तालाई वितरण गर्ने क्यापिटलको प्रक्षेपण छ ।
यसअघि क्यापिटलले सञ्चालनमा ल्याएको ग्लोबल म्युचुअल फण्ड अन्तर्गत ग्लोबल आइएमई समुन्नत योजना १ बाट लगानीकर्ताले १० वर्षे अवधिको यो योजनाबाट लगानीकर्ताले १०४ प्रतिशत प्रतिफल पाएका थिए ।
किन लगानी गर्ने ?
क्यापिटलले यो भन्दा अघि ल्याएको योजनाको प्रफर्मेन्स हेरेर नै लगानीकर्ताले यो ‘ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १’ योजनामा विश्वासका साथ लगानी गर्नेमा सीईओ ढकाल विश्वस्त छन् ।
‘लगानीकर्ताले लगानी गर्दा फ्युचरसँगै पास्टलाई पनि हेर्ने गरेको पाइन्छ, विगतमा पनि तीव्र उतारचढाव आउँदा आउँदै हामीले पहिलो योजनाबाट उच्च प्रतिफल दिन सफल भएका थियौं, जुन म्युचुअल फण्डको बजारले दिने प्रतिफलभन्दा बढी नै थियो, यो हेरेर लगानीकर्ताले हामीलाई विश्वास गरेर लगानी गर्नुभयो भने नयाँ योजनाबाट पनि आकर्षित प्रतिफल दिन सक्षम हुने विश्वास गर्दछु,’ ढकालले विश्वासका साथ भने ।
कम्पनीले आफ्नो स्थापना वर्षदेखि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा विभिन्न पब्लिक कम्पनी तथा संघ संस्थाहरुको धितोपत्रको सार्वजनिक निष्काशन कार्य गर्दै आएको छ । साथै, कम्पनीले आफूले प्रदान गर्ने सेवालाई विविधीकरण गर्दै सेयर रजिष्ट्रार सम्बन्धी सेवा सञ्चालन गरेको छ भने लगानी व्यवस्थापन सेवा तथा सेयर प्रत्याभूति सेवा सञ्चालनको लागि समेत अनुमति पाएको छ ।
त्यसैगरी, यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट निक्षेप सदस्यता प्राप्त गरी निक्षेप सदस्यताको सेवा दिँदै आइरहेको छ भने नेपाल धितोपत्र बोर्डबाट योजना व्यवस्थापक तथा डिपोजिटरीको कार्य गर्ने अनुमति समेत पाइसकेको छ ।