काठमाडौं । अबदेखि पुलबाट हुँदै आएको वैदेशिक रोजगार म्यादी जीवन बीमालेख खारेज हुने भएको छ । बीमा समितिले आगामी आर्थिक वर्षदेखि वैदेशिक रोजगार म्यादी जीवन बीमा पुलबाट नयाँ बीमालेख जारी नगर्ने बताएको हो ।
समितिका अनुसार २०७९ साउन १ गतेबाटै लागू हुने गरी यसअघि जारी भएका सम्पूर्ण बीमालेखहरु पनि त्यसको दायित्व सकिएपछि पुल स्वतः खारेज हुनेछ । बुधबार एक सर्कलर जारी गर्दै बीमा समितिले सो व्यवस्था लागू गर्ने जानकारी गराएको हो ।
यससँगै अब इच्छुक जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार म्यादी जीवन बीमालेख जारी गर्न सक्नेछन् । तर, त्यस्तो बीमालेख अनिवार्य रुपमा विद्युतीय माध्यमबाट मात्र जारी गर्नु पर्नेछ । इच्छुकले आगामी आर्थिक वर्षबाटै सो व्यवसाय गर्न पाउने समितिले जनाएको छ । कम्पनीहरुले उक्त व्यवसाय शुरु गर्नुअघि र बन्द गर्नुपरेमा समितिलाई जानकारी गराउनुपर्ने छ ।
विद्युतीय माध्यमबाट बीमालेख जारी गर्दा भुक्तानी सेवा प्रदायकलाई उपलब्ध गराउने सेवा शुल्क बापतको रकम अन्य बीमालेखको विद्युतीय माध्यमबाट बीमाशुल्क भुक्तानी गर्दा लाग्ने शुल्कभन्दा बढी नहुने गरी अधिकतम २० (बीस) रुपैयाँ कायम गर्नुपर्नेछ । साथै, सो सेवा शुल्क बापतको रकम निर्धारित बीमाशुल्कमा समावेश गर्न नपाईने समितिले जानकारी गराएको छ ।
आर्थिक वर्ष २०७८/७९ को बीमांकीय मूल्यांकन साविककै व्यवस्था बमोजिम यसअघि पुल व्यवस्थापकको जिम्मेवारी तोकिएको नेपाल पुनर्बीमा कम्पनीले गर्नुपर्ने छ ।
समितिका अनुसार पुल अन्तर्गत रहेको दायित्व समाप्त नहुँदासम्म बीमालेख अन्तर्गत परेको दाबीको रकम बीमालेख जारी गर्ने बीमकले नै यथाशिघ्र भुक्तानी गनुपर्ने छ । र, पुलमा सहभागी सबै बीमकहरुको आफ्नो हिस्सा बमोजिमको दायित्व बहन गुर्नपर्नेछ ।
त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीले विवरण प्राप्त भएको ७ दिनभित्र बीमकहरुको तोकिए बमोजिमको हिस्सा गणना गरी हिसाव किताब फरफारक गरी सबै कम्पनीहरुमा पठाउनु पर्नेछ र त्यसको जानकारी समितिलाई दिनुपर्ने छ ।
पुल अन्तर्गत जारी भएका बीमालेखहरुको दायित्व समाप्त नहुँदासम्म यस पुलको बीमांकीय मूल्यांकन पुल व्यवस्थापक नेपाल पनुर्बीमा कम्पनीले नै गर्नुपर्ने समेत समितिले जनाएको छ ।