काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्दै आएका सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने भएका छन् । दुबैले असार ३० गते समझदारी पत्रमा हस्ताक्षर गर्दै मर्जरको प्रकृया अघि बढाएका हुन् ।
सम्झौता अनुसार दुई कम्पनी १००ः८० को अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात लुम्बिनी जनरलको १०० कित्ता सेयर हुनेले मर्जरपछि सगरमाथा इन्स्योरेन्सको ८० कित्ता सेयर पाउने छन् ।
मर्जर पनि बन्ने कम्पनीको नाम ‘सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड’ हुने छ । त्यस्तै, प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सगरमाथा इन्स्योरेन्सका सीईओ चंकी क्षेत्री हुने सहमति भएको छ ।
त्यस्तै, सञ्चालक समिति र कर्मचारीको विषयमा भने निर्णय हुन बाँकी रहेको सगरमाथा इन्स्योरेन्सका सीईओ क्षेत्रीले बताए ।
‘क्लोजिङको समय भएकाले सबै विषय टुंगो लगाउन भ्याइएको छैन, मात्र सम्झौता गरिएको हो, क्लोजिङ पछि सबै निर्णय हुन्छ,’ क्षेत्रीले विकासन्युजसँग भने ।
नियामक निकाय बीमा समितिका अनुसार निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी न्यूनतम २ अर्ब ५० रुपैयाँ हुनुपर्ने व्यवस्था छ । सो अनुसार दुई कम्पनी एक आपसमा मर्जरमा जान लागेका हुन् । यससँगै १०० बराबर ८० को स्वाप रेसियोमा मर्ज भएपछि बन्ने ‘सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी’को चुक्ता पुँजी २ अर्ब ३८ करोड रुपैयाँ नाघ्ने देखिन्छ ।
हाल सगरमाथा इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३३ करोड रुपैयाँ छ भने लुम्बिनी जनरल इन्स्योरेन्सको १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । नयाँ बन्ने कम्पनी पुँजीको आधारमा ‘नम्बर वान’ बन्ने देखिएको छ ।
बीमाशुल्क
सगरमाथा इन्स्योरेन्सको पछिल्लो तथ्यांकअनुसार कम्पनीले ३ अर्ब रुपैयाँ बढी बीमाशुल्क आर्जन गरेको छ । जुन जेठ २७ गतेसम्मको तथ्यांक हो । चालु आर्थिक वर्ष अर्थात गत जेठ मसान्तसम्ममा भने सगरमाथाले २ अर्ब ७९ करोड रुपैयाँ र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले १ अर्ब ३८ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । जुन असार मसान्तमा बढेर आउने छ ।
नाफा
चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा सगमाथाले २८ करोड ७१ लाख रुपैयाँ बराबरको खुद नाफा कमाएको छ । त्यस्तै, जनरल इन्स्योरेन्सले ९ करोड ५५ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ ।
कोषहरु
गत चैत मसान्तसम्ममा सगरमाथाको बीमा कोषमा १ अर्ब १८ करोड, जगेडा तथा कोषमा ६० करोड ८६ लाख र महाबिपत्ति जगेडा कोषमा ११ करोड ३६ लाख रुपैयाँ छ । त्यस्तै, लुम्बिनी जनरलको जगेडा कोषमा ३१ करोड १७ लाख, बीमा कोष ७७ करोड १७ लाख र महा विपत्ती जगेडामा ३ करोड ४९ लाख रुपैयाँ छ ।
लाभांश इतिहाश
लाभांशको आधारमा हेर्ने हो भने निर्जीवन बीमा क्षेत्रमै सबैभन्दा बढी बोनस सेयर दिने कम्पनीमा सगमाथा इन्स्योरेन्स अगाडि छ । जसले दोहोरो अंकमा नै लाभांश वितरण गरिरहेको छ । यो अवधिमा सगरमाथाका सेयरधनीले न्यूनतम ११ प्रतिशतदेखि अधिकतम १०० प्रतिशतसम्म बोनस सेयर खाएका छन् । त्यस्तै, लुम्बिनी जनरलले पनि आफ्नो क्षमता अनुसार निरन्तर रुपमा प्रतिफल दिइरहेको छ ।
शाखा संख्या
सगरमाथा इन्स्योरेन्सले निर्जीवन बीमा व्यवसाय गर्दै आएको २५ वर्ष पुरा भएको छ भने लुम्बिनी जनरलले १७ वर्ष पार गरिसकेको छ । यो अवधिमा सगरमाथाले कूल ७३ वटा शाखा, उपशाखा तथा एक्स्टेन्सन मार्फत सेवा दिँदै आएको छ भने लुम्बिनी जनरलले प्रादेशिक, शाखा तथा उपशाखा गरी कूल ४९ वटा शाखा विस्तार गरेको छ । यससँगै अब मर्जर पछि बन्ने कम्पनीको कूल शाखा संख्या १२२ पुग्ने छ ।
कर्मचारी संख्या
हाल सगरमाथामा ३९६ जना कर्मचारी छन् भने लुम्बिनी जनरलमा २५५ जना कर्मचारी कार्यरत छन् । सम्भवतः दुई इन्स्योरेन्स मर्जपछि कर्मचारीहरुको पद तथा सेवा सुविधा नघट्ने सम्भावना बढी छ । बीमा समितिले केही दिन अघिमात्रै एक सर्कुलर जारी गर्दै मर्जरमा जाने कम्पनीहरुलाई कर्मचारीले खाईपाई आएको सेवा सुविधा तथा पद नघटाउन निर्देशन दिएको थियो ।
यो पनि