काठमाडौं । सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनी (जीआईसी) बीचको मर्जर सम्झौतामा मुख्य संस्थापकहरु नै रुष्ट देखिएका छन् । जरनल इन्स्योरेन्सका अध्यक्षले आफूखुशी मर्जर सम्झौता गरेको भन्दै ती कम्पनीका संस्थापकहरुले आपत्ति जनाएका हुन् ।
मूख्य प्रवर्द्धकहरुसँग सर सल्लाह नै नगरी सम्झौता गरेको भन्दै ती सेयरधनीहरुले उक्त मर्जर सम्झौतामा असन्तुष्ट जनाएका हुन् । श्रोतका अनुसार जनरल इन्स्योरेन्सका कुनल कायलले आफ्ना कम्पनीका प्रमुख संस्थापकहरुसँग सल्लाह नै नगरी सानिमा जनरलसँग मर्जरको सम्झौता गरेको भन्दै संस्थापकहरुले असन्तुष्ट जनाएका छन् ।
यो सम्बन्धमा असन्तुष्टि जनाउँदै उनीहरुले अध्यक्ष कायलमाथि मुद्दा हाल्ने तयारीमा छन् ।
‘सानिमासँग मर्ज गर्दै छौं भनेर संस्थापकहरुसँग सरसल्लाह केही पनि नलिई मर्ज गरेको हुनाले संस्थापकहरुले अदालतमा मुद्धा दायर गर्न लागेका हुन्,’ श्रोतले विकासन्युजसँग भन्यो ।
जनरल इन्स्योरेन्सका अध्यक्षले अपरिपक्व व्यवहार देखाएकोमा कम्पनीमा मुख्य सेयरधनीहरुको आपत्ति छ । श्रोतका अनुसार उनीहरु भोलि अर्थात असार ३१ गते अध्यक्ष कायलविरुद्ध अदालतमा मुद्दा दिने तयारीमा छन् ।
असार २९ गते मात्रै सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सबीच मर्जर सम्झौता भएको थियो । यी दुईले बराबरी हैसियतमा मर्जरमा जान प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार मर्जरपछि बन्ने कम्पनीको अध्यक्षमा जनरल इन्स्योरेन्सका अध्यक्ष कायल नै हुने सहमति भएको छ । तर, अब अपरिपक्व अध्यक्षलाई मर्जरपछि बन्ने सानिमा जनरल इन्स्योरेन्स कम्पनीको अध्यक्ष बनाउँदा नयाँ कम्पनीको भविष्य के होला ?
हाल जनरल इन्स्योरेन्सको सञ्चालक समितिमा अध्यक्ष कुनल कायलसहित भोलानाथ ढुंगाना, ज्ञानेश्वर आचार्य, कृष्ण बोहोरा, मिता मुरारका, सरस्वती ज्ञवाली र अमृति बन्जाडे रहेका छन् । जसमध्ये सरस्वती ज्ञवाली र अमृति बन्जाडे सर्वसाधारण सेयरधनीको तर्फबाट र अन्यले संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गरिरहेका छन् ।