काठमाडौं । असार महिनामा बीमा कम्पनीहरू १९ वटा बीमा कम्पनीहरूले मर्जर सम्झौता गरे । बीमा समितिले पुँजी वृद्धिको योजना ल्याएर असार मसान्तभित्र मर्जरमा जाने कम्पनीलाई कर छुटको घोषणा गरेसँगै असारमा अधिकांश कम्पनीहरूले मर्जर सम्झौता गरेका हुन् ।
समितिबाट कर छुट लगायत विभिन्न सेवा सुविधा पाउने आशले कम्पनीहरुले अन्तिम समयमा भटाभट मर्जरको लागि एमओयू गरे । पुनर्बीमा कम्पनी बाहेक ३९ वटा बीमा कम्पनीहरुमध्ये १९ वटा कम्पनी मर्जरमा जाने भएका छन् । असार महिनामा निर्जीवन बीमाका १० वटा र जीवन बीमाका ९ वटा कम्पनीले मर्जरमा जान प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छन् । जुन तीन महिनाभित्रमा बीमा क्षेत्रमा देखिएको उपलब्धी पनि हो ।
एमओयू गरिसकेका निर्जीवन बीमा कम्पनीमा हिमालयन जनरल, एभरेष्ट, प्रिमियर, सगरमाथा, लुम्बिनी जनरल, सिद्धार्थ, जनरल र सानिमा जनरल इन्स्योरेन्स तथा प्रभु र अजोड इन्स्योरेन्स रहेका छन् । जसमध्ये हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले भने मर्जरमा जानको लागि बीमा समितिबाट सैद्धान्तिक सहमति समेत पाइसकेका छन् । अब यी कम्पनीले साउनदेखि हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार गर्दै छन् । जसको चुक्ता पुँजी २ अर्ब २३ करोड रुपैयाँ नाघेको छ ।
त्यस्तै, सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच मर्जरमा जाने सहमति भइसकेको छ । मर्जपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने गरी दुई कम्पनीबीच सहमति भएको हो । तर स्वाप रेसियो भने हालसम्म तय भइसकेको छैन । यदि डीडीएलले फरक नपारे दुई कम्पनीबीच १ बराबर १ को अनुपातमा मर्ज हुने सहमति भएको छ । सो अनुसार दुई कम्पनी मर्जपछि बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ । उक्त रकम निर्जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी हो ।
त्यसपछि सानिमा जनरल र जनरल इन्स्योरेन्सबीच सानिमा जनरलको इन्स्योरेन्सको नाम रहने गरी मर्जर सम्झौता भएको छ । दुई कम्पनीबीच बराबर हैसियत अर्थात १ बराबर १ को अनुपातमा सम्झौता भएको हो । यससँगै नयाँ बन्ने कम्पनीको पुँजी २ अर्ब रुपैयाँ पुग्ने छ । जुन समितिले तोकेको न्यूनतम पुँजीभन्दा कम हो ।
सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स पनि १०० बराबर ८० को स्वाप रेसियोमा मर्जरमा जाने भएका छन् । उक्त स्वापमा मर्ज भएपछिको कम्पनीको पुँजी २ अर्ब ३८ करोड रुपैयाँ पुग्ने छ । त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार हुने छ ।
त्यस्तै, प्रभु र अजोड इन्स्योरेन्सले अन्तिम घडीमा मर्जरमा जानको लागि सम्झौता गरेका छन् । यी कम्पनीले मर्जरपछि सेवा सुविधामा छुट पाउनको लागि असार ३२ गते राती बजेतिर एमओयूमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अनुसार मर्जरपछि प्रभु इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने र चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्ने भएको छ ।
४ वटामा सीमित भए ९ जीवन बीमा कम्पनी
यता जीवन बीमातर्फ ९ वटा कम्पनीले मर्जरमा जानको प्रारम्भिक समझदारी गरिसकेका छन् । जसमा प्रभु र महालक्ष्मी लाइफ, सूर्या र ज्योति लाइफ, रिलायन्स र सानिमा लाइफसहित प्राइम, गुराँस र यूनियन लाइफले एक आपसमा मर्जरमा जानको लागि पहिलो चरणमा सम्झौता गरेका हुन् । जसमध्ये प्रभु र महालक्ष्मी लाइफले स्वाप रेसियोसहित मर्जर पछि बन्ने कम्पनीको नामसमेत तय गरिसकेका छन् । यी दुई बराबर अनुपातमा मर्जरमा जान लागेको हुन् । जसअनुसार मर्जरपछि बन्ने प्रभु महालक्ष्मी लाइफको चुक्ता पुँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्ने छ ।
सूर्या लाईफ इन्स्योरेन्स कम्पनी र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी एक आपसमा मर्जरमा जान असार १२ गते एमओयू गरेका हुन् । यदि १ बराबर १ को अनुपातमा स्वाप रेसियो तय भए कम्पनीको चुक्ता पुँजी करिब ५ अर्ब रुपैयाँ पुग्ने देखिन्छ । हाल सूर्या लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५५ करोड रुपैयाँ र ज्योति लाइफ इन्स्योरेन्सको २ अर्ब ४२ करोड रुपैयाँ पुँजी छ ।
सूर्या लाइफ इन्स्योरेन्सका सीईओ पवन खड्काका अनुसार कम्पनीको मर्जर समितिले गरेको डीडीएको आधारमा स्वाप रेसियो, नयाँ बन्ने कम्पनीको अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत र कर्मचारी समायोजनको विषय टुंगो लाग्ने छ ।
रिलायन्स र सानिमा लाइफ पनि १ बराबर १ को अनुपातमा मर्जरमा जान लागेका छन् । यससँगै दुई कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड रुपैयाँ पुग्ने छ । तर हालसम्म भने मर्जर पछि बन्ने कम्पनीको नाम तय भइनसकेको कम्पनीहरुले जनाएका छन् ।
त्यसैगरी, प्राइम, गुराँस र युनियनले जीवन बीमा क्षेत्रमा सबैभन्दा पहिला मर्जरमा जानको लागि एमओयू गरे । तर हालसम्म पनि स्वाप रेसियो तय भएको छैन । स्वाप रेसियोसँगै मर्जपछि बन्ने कम्पनीको नाम, सीईओ लगायत अध्यक्षको केही पनि टुङ्गो नलागेको यूनियन लाइफका सीईओ मनोज कुमार लालले बताए ।
‘हाल मर्जर सम्झौता मात्र गरेका हौं, डीडीए गर्न बाँकी छ, क्लोजिङ् पछि सबै निर्णय गर्ने छौं,’ सीईओ लालले विकासन्युजसँग भने । यी तीन कम्पनीको कूल चुक्ता पुँजी ७ अर्ब रुपैयाँ रहेको छ ।
कम्पनीहरु मर्जरमा जानुको उद्देश्य भनौं या बाध्यकारी परिस्थिति एउटै हो, चुक्ता पुँजी वृद्धि गर्ने । बीमा समितिले एकाएक निर्जीवन बीमा कम्पनीको न्यूनतम पुँजी साढे २ अर्ब रुपैयाँ र जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी ५ अर्ब पुर्याउने व्यवस्था गरेको थियो । जसको लागि पहिलो प्राथमिकतामा मर्जर नै थियो । यद्दपि पुँजी पुर्याउनकै लागि गरिएको मर्जरपछि बन्ने अधिकांश कम्पनीहरुको चुक्ता पुँजीले समितिको व्यवस्थालाई मिट गर्न सकेको छैन । अर्थात् तोकिएको न्यूनतम पुँजी भन्दा कम छ । भलै, यो छोटो समयमा बीमा कम्पनीहरुले समितिको निर्देशन अनुसार गरेको यो प्रयासलाई भने सकारात्मक रुपमा लिन सकिन्छ ।
तोकिएको पुँजी पुर्याउनको लागि कम्पनीहरुलाई आगामी चैतसम्मको समय छ । उक्त समयभित्रमा मर्जरमा गएका कम्पनीहरुले हकप्रद तथा बोनस सेयरमार्फत न्यूनतम पुँजी पुर्याउन सक्ने देखिएको छ । र, त्यसपछिको बीमा क्षेत्रले छुट्टै रुप लिएर बजारमा फड्को मार्ने नियामक निकाय बीमा समितिको विश्वास छ ।