काठमाडौं । पछिल्लो एक सातादेखि सेयर बजार निरन्तर रुपमा बढी रहेको छ । असार २७ गतेदेखि निरन्तर उकालो लागेको नेप्से परिसूचक हालसम्म ११३.८२ बिन्दुले बढीसकेको छ ।
साउन ३ गतेको बजारमा परिसूचक १६.२७ अंकले बढेर २०४५.६९ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.८० प्रतिशतले बढी हो ।
मंगलबारको बजारमा गत तीन दिन यताकै उच्च कारोबार भएको छ । दिनभरको कारोबारमा २ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक अर्थात १५ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सर्वाधिक कारोबारसँगै कम्पनीको सेयर मूल्य पनि १९.६० रुपैयाँले बढेर प्रतिकित्ता ७८४.६० रुपैयाँ पुगेको छ ।
त्यस्तै, एभरेष्ट बैंकको १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बैंकको पनि सेयर मूल्य १२.९० रुपैयाँले बढेर प्रतिकित्ता ४५७.९० रुपैयाँ पुगेको छ ।
मंगलबार इमर्जिङ नेपालको सेयर मूल्य सबैभन्दा बढी अर्थात ८.०१ प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ६२ रुपैयाँले बढेर प्रतिकित्ता ८३६ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
पछिल्लो समय दोश्रो बजारमा ऋणपत्रको मूल्य घट्दो क्रममा रहेको छ । सबैभन्दा बढी गुमाउनेको सूचीमा सिभिल बैंकको डिबेन्चर २०८८ रहेको छ । जसको मूल्य एकैदिन ७.७५ प्रतिशतले घटेर प्रतिकित्ता ७७.५० रुपैयाँमा झरेको छ ।
बजारमा कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् । जसमध्ये लघुवित्त समूह सबैभन्दा बढी अर्थात ८१.६२ अंकले बढेको छ ।