
काठमाडौं । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१’ को सार्वजनिक निष्कासन तथा बिक्री आज बैकिङ समय पश्चात् बन्द हुने भएको छ । असार २२ गतेदेखि सार्वजनिक निष्काशन तथा खुला रहेको यो फण्ड साउन ४ गतेदेखि आवेदन बन्द हुन लागेको हो ।
१० वर्षे बन्दमुखी योजना ‘ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१’ को प्रतिइकाई १० रूपैयाँ मूल्य अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।
लगानीकर्ताले न्यूनतम् १०० इकाई र अधिकतम् १ करोड २० लाख इकाईसम्म खरिद गर्न सक्नेछन् । धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्वा प्रणाली मार्फत वा सिडिएस एन्ड क्लियरिङ लि.द्वारा सञ्चालित ‘मेरो सेयर’ अनलाइन प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र, कानून बमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सञ्चय कोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष लगायतले आवेदन दिन सक्ने छन् ।
कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंक हो । योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल हो । ग्लोबल आइएमई क्यापिटलले अघिल्लो आर्थिक वर्ष सतप्रतिशत आकर्षक प्रतिफल दिन सफल भएको थियो । यसै क्रममा कम्पनीले अर्को ‘ग्लोबल आइएमई समुन्नत योजना–१’ सञ्चालन गर्न लागेको हो ।