काठमाडौं । गत आर्थिक वर्षमा विभिन्न ६ जीवन बीमा कम्पनीले ९१ अर्ब रुपैयाँ बढीको बिजनेश गर्न सफल भएका छन् । आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा शीर्ष ६ जीवन बीमा कम्पनीले कूल ९१ अर्ब ३५ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।
जसमा नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन, नेशनल लाइफ, राष्ट्रिय बीमा संस्थान र यूनियन लाइफ रहेका छन् । उक्त रकम अघिल्लो वर्षको तुलनामा ९.६० प्रतिशतले बढी हो । यी ६ वटा कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा कूल ८३ अर्ब ३५ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका थिए ।
रकमको आधारमा नेपाल लाइफको अग्रता रहेको छ भने बिजनेश वृद्धिदरको आधारमा एशियन लाइफ अन्य कम्पनीको तुलनामा बढी आक्रामक देखिएको छ ।
नेपाल लाइफले गत वर्षमा ३५ अर्ब ४४ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको कम्पनी श्रोतले जनाएको छ । जुन अघिल्लो वर्षको तुलनामा ९.५२ प्रतिशतले बढी हो । इन्स्योरेन्सले अघिल्लो वर्षमा ३२ अर्ब ३६ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको थियो ।
त्यस्तै, अघिल्लो वर्ष १७ अर्बको क्लबमा रहेको लाइफ इन्स्योरेन्स गत वर्ष १८ अर्ब क्लबमा प्रवेश गर्न सफल भएको छ । इन्स्योरेन्सले एक वर्षको अवधिमा ६.३० प्रतिशतले बिजनेश बढाएर १८ अर्ब २२ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ ।
त्यसैगरी, नेशनल लाइफ बीमाशुल्कको आधारमा तेश्रो स्थानमा रहेको छ । अघिल्लो वर्ष १२ अर्ब ५४ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको इन्स्योरेन्सले गत एक वर्षमा १४ अर्ब १३ करोड रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १२.६८ प्रतिशतले बढी हो ।
सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानको पनि बिजेनश दोहोरो अंकले बढेको छ । अघिल्लो वर्षको तुलनामा संस्थानको प्रिमियम ११.७४ प्रतिशतले बढेर ८ अर्ब ४७ करोड रुपैयाँ पुगेको सीईओ कबि प्रसाद पाठकले विकासन्युजलाई बताए । जुन अघिल्लो आवमा ७ अर्ब ५८ करोड रुपैयाँ थियो ।
यता यूनियन लाइफ र एशियन लाइफको बिजनेश वृद्धिदर अन्य कम्पनीको तुलनामा बढी छ । जसमध्ये पनि एशियन लाइफको बिजनेश २१.३२ प्रतिशतले बढेको छ । कम्पनी श्रोतका अनुसार एशियन लाइफको बीमाशुल्क बढेर ७ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । जुन रकम ५ कम्पनीको तुलनामा कम भएपनि कम्पनीको ग्रोथ भने सबैभन्दा बढी छ । अघिल्लो आवमा ५ अर्ब ९१ करोड रुपैयाँको क्लबमा रहेको एशियन लाइफ यो वर्ष ७ अर्बको क्लबमा सजिलै प्रवेश गर्न सफल भएको छ ।
प्रतिशतका आधारमा सबैभन्दा बढी ग्रोथ गर्नेको दोश्रो स्थानमा यूनियन लाइफ रहेको छ । युनियन लाइफले अघिल्लो वर्षको तुलनामा १६.१३ प्रतिशतले बिजेनश बढाई ७ अर्ब ९२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको कम्पनीका सीईओ मनोज कुमार लाल कर्णले बताए । अघिल्लो वर्ष भने इन्स्योरेन्सको यस्तो रकम ६ अर्ब ८२ करोड रुपैयाँ थियो ।
हाल २० वटा कम्पनीले जीवन बीमा व्यवसाय गरिरहेका छन् । जसमध्ये यी ६ कम्पनी विभिन्न सूचकमा शीर्ष स्थानमा रहेका छन् ।
यो पनि पढ्नुहोस् :