
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) मा एक वर्षको अवधिमा ६१ अर्ब रुपैयाँ बराबरको सेयर दर्ता भएको छ । बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा ६१ अर्ब ७९ करोड ४३ हजार १३१ रुपैयाँ बराबरको बोनस सेयर दर्ता भएको हो ।
बोर्डका अनुसार २०७८ साल साउन ३ गतेदेखि २०७९ अषाढ ३१ गतेसम्ममा १४५ कम्पनीको ६१ करोड ७९ लाख ४३१ कित्ता शेयर बोर्डमा भएको हो । कम्पनीहरुले आर्थिक वर्ष २०७६/०७७ र आर्थिक वर्ष २०७७/०७८ मा वितरण गरेको बोनस सेयर रहेको छ ।
यो अघिल्लो वर्षको तुलनामा ३३.८० प्रतिशत अर्थात् साढे १५ अर्ब रुपैयाँ बढी हो । यसअघि २०७७ साउन २ गतेदेखि २०७८ अषाढ २९ गतेसम्ममा १३४ कम्पनीको ४६ अर्ब १७ करोड ८१ लाख ३८ हजार ६६२ रुपैयाँ बराबरको ४६ करोड १७ लाख ८१ हजार ३८६ कित्ता बोसन सेयर दर्ता भएको थियो ।
गत वर्ष भने सबैभन्दा धेरै जीवन विकास लघुवित्तको बोनस सेयर दर्ता भएको छ । लघुवित्तले आर्थिक वर्ष २०७७/०७८ मा ७० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । त्यस्तै, मञ्जुश्री फाइनान्स र नेशनल माइक्रोफाइनान्सले समान ४० प्रतिशत बोनस सेयर वितरण गरेका थिए ।
महिला लघुवित्तले भने ४७ प्रतिशत बोनस सेयर बोर्डमा दर्ता भएको छ भने हिमालयन डिस्टिलरी कम्पनीले ७५ प्रतिशत बोनस दर्ता भएको हो । यसअघि आर्थिक वर्ष २०७६/०७७ मा भने जनउत्थान सामुदायिक लघुवित्तको ४९.४० प्रतिशत बोनस बोर्डमा दर्ता भएको देखिन्छ ।
गत वर्ष बोर्डमा ५० वटा माइक्रोफाइनान्स कम्पनी, २६ इन्स्योरेन्स कम्पनी, १२ वटा फाइनान्स कम्पनी, २५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक र ९ वटा हाइड्रोपावर कम्पनी गरी १४५ वटा कम्पनीको बोनस दर्ता भएको हो ।
[pdf id=340449]