काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले साउन ६ गते, शुक्रबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले शुक्रबारदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ८५ करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ८ लाख ५० हजार कित्ता साधरण सेयर आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्ने भएको हो ।
कम्पनीको आईपीओमा छिटोमा साउन २० गतेसम्म र ढिलोमा भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा स्थानीय बासिन्दाले माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमाण्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एशिया बैंकको पोखरा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।