काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका प्रविण रमण पराजुलीले बीमा समितिको स्वीकृति पाएका छन् । समितिले उनलाई साउन ४ गते बुधबार नेपाल लाइफ इन्स्योरेन्सको सीईओ पदको लागि स्वीकृति दिएको हो ।
गत असार ३१ गते बसेको कम्पनीको सञ्चालक समितिले इन्स्योरेन्सको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) लाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । जसको स्वीकृतिको लागि बीमा समितिमा पठाइएको थियो । समितिले ५ दिनमै कम्पनीको सञ्चालक समितिको उक्त निर्णयलाई स्वीकृत गरेको हो ।
पराजुली गत पुसमा डीसीईओको रुपमा नेपाल लाइफ गएका थिए । त्यसअघि उनले रिलायन्स लाइफको सीईओको कार्यभार सम्हालेका थिए । २०७४ पुस महिनादेखि रिलायन्स लाइफको सीईओ पदको जिम्मेवारी सम्हालेका पराजुलीले ४ वर्षे कार्यकाल सफलतापूर्वक सकेर नेपाल लाइफमा प्रवेश गरेका हुन् ।
रिलायन्स लाइफमा जानुअघि उनले नविल इन्भेष्टमेन्ट बैंकिङमा प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी सम्हालेका थिए । बीमा क्षेत्रमा करिब ५ वर्ष काम गरेका पराजुलीसँग बैंकिङ र पुँजी बजारको समेत राम्रो ज्ञान र अनुभव छ ।
नेपाल लाइफको सीईओमा उनको नियुक्तीसँगै कम्पनीले नयाँ उचाई लिने सञ्चालक समितिको विश्वास रहेको छ ।