
काठमाडौं । पूर्व सचिव दुर्गा प्रसाद पाण्डेयको निधन भएको छ । उनी नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीप प्रकाश पाण्डेयका बुबा हुन् ।
८६ वर्षिय पाण्डेयको विहीबार नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गर्दै गर्दा निधन भएको पारिवारिक स्रोतले बतायो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।
सन् १९९० देखि १९९४ सम्म वाणिज्य मन्त्रालयको सचिव रहेका पाण्डेयले ३६ वर्ष सरकारी सेवामा विताएका थिए ।
लखनऊ विश्वविद्यालयबाट एमए पास गरेपछि पाटन क्याम्पसमा लेक्चररको रुपमा सेवा गरेका पाण्डेय सन् २०६१ मा शाखा अधिकृतको रुपमा निजामति सेवामा प्रवेश गरेका थिए । पछि विभागमा महानिर्देशक, कोलकत्ताको लागि महावाणिज्यदूत, विरगञ्ज चिनी कारखानाको अध्यक्ष तथा महाप्रवन्धक हुँदै वाणिज्य मन्त्रालयको सचिवबाट अवकाश भएका थिए ।
निरन्तर अखबारी लेखहरु लेख्ने र प्रकाशन गर्ने गर्दै आएका पाण्डेयले लेखेका पुस्तकहरु पनि प्रकाशित छन् । उनलाई नेपाल सरकारले सुप्रशिद्ध गोरखा दक्षिण बाहु, सुविख्यात त्रिशक्ति पट्ट, दीर्घ सेवा पदक लगायत पद तथा मानवीबाट सम्मानित गरेको थियो ।