काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या समाधान गर्नका लागि मन्त्रीपरिषदमा प्रस्ताव लैजाने प्रक्रिया अघि बढाइएको बताएका छन् ।
स्वास्थ्य विमा कार्यक्रम रोकिएको भन्दै सरकारको चौतर्फी विरोध भईरहँदा मन्त्री खापुङले ती समस्या समाधानका लागि मन्त्रीपरिषदमा तत्काल प्रस्ताव लैजाने गरी प्रक्रिया अघि बढाइएको बताएका हुन् ।
शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा यो बीमालाई सरकारी र सामूदायिक अस्पतालबाट मात्रै संचालन गरिनेछ भन्ने व्यवस्था गरिएको र त्यसलाई संसदले पनि पारित गरेकाले अहिले त्यसको संचालनमा समस्या आएको बताए ।
‘त्यस सम्बन्धमा बीमा बोर्डले पनि के गर्ने भनेर मन्त्रालयलाई सोधेकाले त्यसमा देखिएको समस्या समाधान गर्न मन्त्रीपरिषदमा प्रस्ताव लैजान उपयुक्त हुने भएकाले मन्त्रीपरिषदमा लैजाने प्रक्रिया अघि बढाएका हाैं,’ उनले भने ।
मन्त्री खापुङले प्राईभेट क्षेत्रको सहभागिताविना स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी नहुने सुझाव सबैतिरबाट आएकाले सरकार सोही अनुसार अघि बढने धारणा पनि राखे । उनले सो बीमा कार्यक्रमलाई दिगो र व्यवस्थित बनाउन सरकारले छुट्टै कम्पनी खडा गरेर अघि बढने तयारी गरिरहेको समेत बताए ।