काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गते, मंगलबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशत अर्थात् ३ करोड ३१ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।
लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गर्नेछ । जसमध्ये ०.५ प्रतिशत अर्थात् ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुका लागि, बाँकी ३ लाख ८ हजार २९५ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।
लघुवित्तको आइपीओमा छिटोमा साउन २९ गते र ढिलोमा भदौ ७ गतेसम्म आवेदन दिन सकिनेछ । लघुवित्तको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । लघुवित्तको आईपीओमा लगानीकर्ताले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।
लघुवित्तको आईपीओलाई केयर रेटिङ्गस नेपालले केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।