अब एक महिनाभन्दा बढी सेयर कारोबार रोक्का नहुने, कार्यविधि निर्माणमा जुट्यो बोर्ड

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिमा गएका कम्पनीको सेयर कारोबार रोक्का गर्ने व्यवस्था खारेज गरेपछि नेपाल धितोपत्र बोर्ड कार्यविधि बनाउनतर्फ लागेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिमार्फत् बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको समयमा धितोपत्र कारोबार रोक्का गर्ने विद्यमान व्यवस्था खारेज गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी बोर्डलाई दिएको [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिमा गएका कम्पनीको सेयर कारोबार रोक्का गर्ने व्यवस्था खारेज गरेपछि नेपाल धितोपत्र बोर्ड कार्यविधि बनाउनतर्फ लागेको छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिमार्फत् बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको समयमा धितोपत्र कारोबार रोक्का गर्ने विद्यमान व्यवस्था खारेज गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी बोर्डलाई दिएको हो । सोही व्यवस्था बमोजिम अब धितोपत्र बोर्डले कार्यविधि तथा निर्देशिका निर्माण गरेर काम अगाडि बढाउने भएको हो ।

मर्जर तथा प्राप्तिमा गएका कम्पनीको सेयर कारोबार रोक्का राख्ने व्यवस्था नियामक निकाय धितोपत्र बोर्डले पाएसँगै कार्यविधि तथा निर्देशिका तयार गर्न बोर्डले कमिटि बनाएर अध्ययन गरिरहेको बोर्डले बताएको छ । कमिटिले छिट्टै प्रतिवेदन बुझाउने गरी काम गरिरहेको बताइएको छ ।

धितोपत्र बोर्डको नियमन तथा व्यवस्थापन विभागका कार्यकारी निर्देशक विनयदेव आचार्यको संयोजकत्वमा कार्यविधि निर्माण समिति बनेको छ ।

मर्जर तथा प्राप्तिका कारण सेयर कारोबार रोक्का गर्न हालसम्म धितोपत्र बोर्डले कुनै पनि व्यवस्था गरेको छैन । तर, राष्ट्र बैंकले गरेको उक्त व्यवस्थालाई कम्पनीहरूले अनुसरण गर्दै आएका थिए । तर, पछिल्लो समय कारोबार रोक्का हुँदा लगानीकर्तालाई ठूलो असर परेको भन्दै विरोध भएपछि यसमा राष्ट्र बैंक नै पछि हटेको हो ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले तत्कालै कार्यविधि बनाएर अघि बढ्ने बताए । मौद्रिक नीतिमा सेयर कारोबार रोक्का गर्ने व्यवस्था राष्ट्र बैंकले खारेज गरी बोर्डलाई सम्पूर्ण अधिकार दिएकाले कार्यविधि बनाएर अघि बढ्ने अध्यक्षको भनाइ छ ।

‘कार्यविधि बनाउन धेरै समय लाग्दैन, कार्यविधि बनिसकेपछि त्यस विषयमा अध्ययन गरेर तत्काल कार्यान्वयनमा ल्याउँछौं,’ अध्यक्ष हमालले विकासन्युजसँग भने ।

उसो त यसअघि उनले साउन १ गतेदेखि मर्जर तथा एक्विजिसनमा जाने कम्पनीहरुको सेयर कारोबार रोक्का नहुने बताएका थिए । तर, अहिले उनी सो वक्तव्यबाट पछि हटेका छन् अर्थात् आफुले साउनदेखि कम्पनीको सेयर कारोबार रोक्का हुने नबताएको प्रष्ट पारे ।

‘कारोबार रोक्का हुँदैन भनेको थिएन, कारोबार रोक्का हुने समय एक वर्षभन्दा लम्बिनु हुँदैन भनेको हुँ, अब लगातार एक वर्ष सेयर कारोबार रोक्का हुँदैन, यस विषयमा हामी काम थालनी गरिसकेका छौं,’ उनले भने ।

उनले मर्जरको नाममा सेयर बजारमा चलखेल हुन सक्ने बताउँदै त्यसमा बोर्ड सजग रहेको धारणा राखे । मर्जरका नाममा हुने चलखेल अन्त्य गर्न आफु तयार रहेको उनको भनाइ छ ।

‘अधिकतम एक महिना सेयर कारोबार रोक्का हुनु स्वभाविक नै हो तर, निरन्तर सेयर रोक्का हुनु हुँदैन, अब सेयर कारोबार रोक्का हुने समय धेरै छोटो हुन्छ, अन्य देशहरुको अभ्यास पनि हेरेर कार्यविधि बन्छ,’ उनले भने ।

बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र हाइड्रोपावर कम्पनीनहरु मर्जरमा गएका कारण हाल ३१ वटा कम्पनीको सेयर कारोबार रोक्का छ ।

Share News