काठमाडौं । सेयर बजारले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको स्वागत गरेको छ । ओरालो लाग्दै आएको सेयर बजार आइतबार बढेपछि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको स्वागत गरेको जानकारहरु बताउँछन् ।
सेयर बजार अनुकुल मौद्रिक नीति आएपछि सेयर बजारमा पनि हरियाली छाएको छ । यसअघि घट्दै आएको सेयर बजार राष्ट्र बैंकको मौद्रिक नीतिका कारण बढ्ने अपेक्षा सेयर जानकार बताउँछन् ।
शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् सेयर धितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरुबाट लिनसक्ने गरी अधिकतम सीमा १२ करोड रुपैयाँ कायम गरेको थियो । सेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिन कर्जासम्बन्धी व्यवस्था हटाउने बताएको थियो । सोही कारण सेयर बजार बढेको जानकार बताउँछन् ।
आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६१.०५ अंकले बढेर २०७८.५१ अंकमा बन्द भएको छ । आइतबार नेप्से ३.०३ प्रतिशतले बढेको हो । आइतबार दिनभरिमा २१९ कम्पनीको ६४ लाख २३ हजार १४६ कित्ता सेयर ४२ हजार ९३० पटक किनबेच हुँदा २ अर्ब ७३ करोड ९ लाख २७ हजार २९७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबार बैंकिङ्ग समूह १.६७ प्रतिशत, ट्रेडिङ्ग समूह ४.४४ प्रतिशत, होटल एण्ड टुरिजम समूह २.७५ प्रतिशत, विकास बैंक समूह ५.१ प्रतिशत, हाइड्रोपावर समूह ३.६८ प्रतिशत, फाइनान्स समूह ७.२२ प्रतिशत, निर्जीवन बीमा समूह १.४५ प्रतिशत, म्यानुफ्याक्चरिङ्ग एण्ड प्रोसेसिङ्ग समूह १.९४ प्रतिशत, अन्य समूह ६.९३ प्रतिशत, माइक्रोफाइनान्स समूह ३.९१ प्रतिशत, जीवन बीमा समूह २.१६ प्रतिशत, म्युचुअल फण्ड समूह १.१६ प्रतिशत र इन्भेष्टमेन्ट समूह ३.२१ प्रतिशत बढेको छ ।
आज विभिन्न ३ कम्पनीको सेयर १० प्रतिशतभन्दा बढी बढेको छ । आज सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स र मल्टीप्रपोज फाइनान्सको सेयर मूल्य १० प्रतिशत बढेको हो । साथै विभिन्न सात वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । यता विभिन्न १२ कम्पनीको सेयर मूल्य भने सामान्य घटेको छ ।