काठमाडौं । बोटलर्स नेपाल लिमिटेडले आफ्नो पूँजी वृद्धि गर्ने भएको छ । साउन ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले स्थिर पूँजी वृद्धि गरि ४ अर्ब ४४ करोड रुपैयाँ पुर्याउने निर्णय गरेको हो ।
कम्पनीले आफ्नो उत्पादन क्षमता बढाउनका लागि उक्त पूँजी वृद्धि गर्न लागेको कम्पनी सचिव प्रतिमा वुर्माले बताइन् । उनका अनुसार यसअघि कम्पनीको स्थिर पूँजी ३ अर्ब १५ करोड रुपैयाँ रहेको थियो ।
साथै, कम्पनीको सोहि बैठकले चालु पूँजी अर्थात् कार्यगत पूँजी ७० करोड रुपैयाँ पुर्याउने निर्णय गरेको हो । यसअघि उक्त पूँजी ३५ करोड रुपैयाँ रहेको वुर्माले बताइन् ।
कम्पनीको पूँजी वृद्धि गर्नका लागि आन्तरिक पूँजी परिचालन तथा बैंकबाट ऋण लिन सक्ने कम्पनीले बताएको छ । जसका लागि धितोपत्र बोर्डको अनुमति लिनुपर्ने भएकाले जानकारी मात्रै गराएको कम्पनीले बतायो । बोर्डले अनुमति दिएपछि अन्य प्रक्रिया अघि बढाउने कम्पनीको भनाइ छ ।