काठमाडौं । मौद्रिक नीति सार्वजनिक गरेको तेस्रो दिनमा आएर सेयर बजारमा राताम्य छाएको छ । मौद्रिक नीति सार्वजनिक भएको २ दिन लगातार बढेको सेयर बजार तेस्रो दिनमा आएर भारि अंकले घटेको छ ।
सार्वजनिक कार्यक्रममा नै विभिन्न संघ संस्थाका अध्यक्ष लगायतले नै मौद्रिक नीतिका तरलताको समस्या कायम रहने वक्तव्य दिएका कारण लगानीकर्तामा निराशा छाएको छ । साथै नेपाल बैंकर्स संघले झण्डै ६४ अर्ब रुपैयाँ निक्षेप घटेको तथ्याङ्क सार्वजनिक गरेपछि सेयर बजारमा प्रभाव परेको सेयर जानकार बताउँछन् ।
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४.८० अंकले घटेर २०८८.१६ बिन्दुमा झरेको छ । साथै आज दिनभरिमा २२२ कम्पनीको ८७ लाख ४० हजार ५५१ कित्ता सेयर ६० हजार ५१७ पटक किनबेच हुँदा ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ रुपैयाँ बराबरको कारोबार भएको नप्सेले जनाएको छ ।
दुई दिन लगातार उच्च अंकले सेयर बजार बढेपछि लगानीकर्ताले नाफा बुक गर्न खोज्दा बजार घटेको सेयर जानकारहरुले बताएका छन् । साथै ब्याजदर अझै बढ्न सक्ने भएकाले पनि बजारमा त्यसको प्रभाव परेको बताइएको छ ।
मंगलबार बैंकिङ्ग समूह १.७९ प्रतिशत, ट्रेडिङ्ग समूह २.३९ प्रतिशत, होटल एण्ड टुरिजम समूह २.७७ प्रतिशत, विकास बैंक समूह २.९६ प्रतिशत, हाइड्रोपावर समूह १.९४ प्रतिशत, फाइनान्स समूह २.७७ प्रतिशत, निर्जीवन बीमा समूह १.२४ प्रतिशत, म्यानुफ्याक्चरिङ्ग एण्ड प्रोसेसिङ्ग समूह १.७३ प्रतिशत, अन्य समूह ३.५६ प्रतिशत, माइक्रोफाइनान्स समूह २.२८ प्रतिशत, जीवन बीमा समूह १.३३ प्रतिशत, म्युचुअल फण्ड समूह १.२३ प्रतिशत र इन्भेष्टमेन्ट समूह २.५६ प्रतिशत घटेको छ ।
आज मल्टिपर्पाेज फाइनान्स कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ९.३२ प्रतिशत बढेको छ । त्यस्तै सूर्याेदय वोमी लघुवित्तको ६.७२ प्रतिशत र युनाइटेड मोदी हाइड्रोपावरको सेयर मूल्य ६.१९ प्रतिशत बढेको छ । सबैभन्दा धेरै गणपति लघुवित्तको ६.८२ प्रतिशतले सेयर मूल्य घटेको छ । त्यस्तै, सिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन १९ करोड ३६ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।