
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले आगामी बिहीबार नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । सेवोनले साउन १२ गते धितोपत्र बजार तथा विनिमय बजार सम्बन्धी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।
बोर्डले हरेक वर्ष नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आएको छ । बोर्डका अध्यक्ष भएर आएसँगै रमेशकुमार हमालले भने पहिलो पटक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छन् । अध्यक्ष भएर आएको छोटो अवधिमा पूँजी बजारको विकासको लागि केही गृहकार्य गरिरहेका हमालले महत्वपूर्ण योजना ल्याउने अपेक्षा गरिएको छ ।
साथै, राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा गरिएको सेयर बजार सम्बन्धी व्यवस्थालाई अध्यक्ष हमालले नीति तथा कार्यक्रममा समेट्ने बुझिएको छ ।
उक्त नीति तथा कार्यक्रमका लागि बोर्डले बजारका सरोकारवालाहरुसँग राय तथा सल्लाह/सुझाव मागिसकेको छ । जसको अन्तिम म्याद असार २० गतेसम्म थियो ।