काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमाल दोलखा हाइड्रोपावरको सेयर कारोबार रोक्का भएको छ । कम्पनीले नियम विपरित कारोबार गरेपछि नेप्सेले आइतबार सेयर कारोबार रोक्का गरेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए ।
कम्पनीले सेयर बजार चलिरहेको समयमा सञ्चालक समितिको बैठक सञ्चालन गरेको भन्दै कारवाही स्वरुप सेयर कारोबार रोक्का गरेको हो । साथै, कम्पनीले समयमा सूचना नदिएकाले समेत सेयर कारोबार रोक्का गरेको हो । बुक क्लोज गर्नुभन्दा ७ दिन अघि नै सूचना दिनुपर्ने व्यवस्था छ । तर, कम्पनीले बुकक्लोज गर्ने दिनभन्दा ७ दिन अघि नै सूचना नदिएकोले कम्पनीलाई स्पष्टिकरण समेत सोधेको छ ।
कम्पनीले १३ गते शुक्रबार बिहान ११ बजे बोर्ड बैठक राखेर विभिन्न निर्णयसहित ७५ प्रतिशत (१ः०.७५ को अनुपात) हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । कम्पनीले भदौ ३ गते साधारण सभा गर्ने निर्णय गरेको छ । साधारण सभा प्रययोजनार्थ साउन १९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । तर, १४ गते मात्रै सूचना दिएपछि तोकिएको समय भित्र सूचना उपलब्ध नगराएपछि स्पष्टिकरणसहित कारोबार रोक्का गरेको हो ।