काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई छलफलमा बोलाएको छ । बीमा समितिका अनुसार आइतबार ३ बजेका लागि कम्पनीहरूका सीईओहरुलाई समितिमा छलफलका लागि बोलाएको हो ।
पछिल्लो समय जीवन बीमा कम्पनीहरुकाे अण्डरराइटिङमा विभिन्न त्रुटीहरू बाहिरिन थालेपछि समितिले सीईओहरुलाई समितिमा छलफलका लागि बोलाएको हो । बीमा समितिका अनुसार छलफलमा अण्डरराइटिङको विषयमा वृहत छलफल हुनेछ ।
पछिल्लाे समय अण्डरराइटिङमा कमजाेरी भएकाे विषयहरु धेरै मात्रामा बाहिरिन थालेका छन् । शुक्रबार मात्रै एक बीमा कम्पनीले गरेको अण्डराइटिङमा ठूलाे त्रुटी गरेकाे घटना बाहिरिसकेकाे छ । साे अपराधिक घटनापछि समिति सीईओहरुलाई नै समितिमा बोलाएर छलफल गर्ने निर्णयमा पुगेकाे हाे ।
स्रोतका अनुसार आज बीमा कम्पनीहरुको अण्डराइटिङमा हुने गरेकाे कमजोरीलाई न्यूनीकरण गर्ने उपायसहितको छलफल हुनेछ । समितिले अब अण्डरराइटिङमा कडाइ गर्ने तयारी गरेको पनि बुझिएको छ ।