काठमाडौं । निरन्तर बढिरहेको सेयर बजारले आइतबार पनि निरन्तर पाएको छ । यसअघि गत साता सुधार आएको बजारमा यस साताको पहिलो दिन पनि हरियाली छाएको छ । सेयर बजार आइतबार भारि अंकले बढेको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५४.५८ अंकले बढेर २१९५.१० बिन्दुमा आएर बन्द भएको हो ।
आज २२० कम्पनीको १ करोड १३ लाख ३९ हजार ४७६ कित्ता सेयर ६७ हजार ७४० पटक किनबेच भएको छ । आइतबारको बजारमा जम्मा ४ अर्ब ६० करोड ९७ लाख ९१ हजार २७२ रुपैयाँ बराबरको कारोबार भएको हो ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर बजार सम्बन्धी सकारात्मक व्यवस्था गरेकाले सेयर बजार निरन्तर उकालो लागेको सेयर विश्लेषकहरु बताउँदै आएका छन् । आइतबार बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । अन्य समूहभन्दा जीबन बीमा र निर्जीबन बीमा समूहका कम्पनीको सेयर मूल्य बढेका छन् ।
त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले आजभेलि नै अर्थमन्त्री नियुक्त गर्ने चर्चा छ । बजेट निर्माणमा बाहिरी व्यक्ति संलग्न गराएको आरोप लागेपछि राजीनामा दिएका जनार्दन शर्मा पुनः अर्थमन्त्री बन्ने समाचार सार्वजनिक भएपछि सेयर बजार बढेको बिश्लेषक बताउँछन् ।
आइतबार बैंकिङ्ग समूह २.९२ प्रतिशत, ट्रेडिङ्ग समूह ३.६२ प्रतिशत, होटल एण्ड टुरिजम समूह २.७२ प्रतिशत, विकास बैंक समूह ०.७८ प्रतिशत, हाइड्रोपावर समूह ०.८ प्रतिशत, निर्जीवन बीमा समूह ४.५१ प्रतिशत, म्यानुफ्याक्चरिङ्ग एण्ड प्रोसेसिङ्ग समूह १.८३ प्रतिशत, अन्य समूह ३.२६ प्रतिशत, माइक्रोफाइनान्स समूह १.१ प्रतिशत, जीवन बीमा समूह ४.१६ प्रतिशत, म्युचुअल फण्ड समूह ०.७५ प्रतिशत र इन्भेष्टमेन्ट समूह ४.७६ प्रतिशत बढेको छ । यता आज फाइनान्स समूह १.६ प्रतिशतले घटेको छ ।
आइतबार आइएमई जनरल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स कम्पनील, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, नेको इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स कम्पनीको सेयरमूल्य १० प्रतिशत बढेको छ ।