काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) दुई बैंकलाई ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न अनुमति दिएको छ । बैंकले आइतबार हिमालयन बैंक र बैंक अफ काठमाण्डूलाई ऋणपत्र निष्काशन गर्न अनुमति दिएको हो । बोर्डले अनुमति दिएसँगै अब दुबै बैंकले छिट्टै ऋणपत्र निष्काशन गर्नेछन् ।
हिमालयन बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न सेबोनबाट अनुमति पाएको हो । बैंकले ‘वार्षिक १०.५ प्रतिशत हिमालयन बैंक बन्ड २०८६’ ऋणपत्र निष्काशन गर्ने छ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदर रहेको ऋणपत्रको अवधि ७ वर्ष रहेको छ ।
बैंकले प्रति इकाई १ हजार रुपैयाँ अंकित मूल्यका दरले २५ लाख कित्ता इकाई ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो । जसमध्ये १० लाख इकाई ऋणपत्र सर्वसाधारणका लागि र बाँकी १५ लाख इकाई ऋणपत्र व्यक्तिगतका लागि छुट्याएको छ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
त्यस्तै, बैंक अफ काठमाण्डूलाई १ अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशनको लागि बोर्डले अनुमति दिएको छ । बैंकले ‘वार्षिक १०.५ प्रतिशत बीओके डिबेञ्चर २०८६’ नामक ऋणपत्र निष्काशन गर्नेछ । बैंकको उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको छ ।
बैंकले प्रति इकाई १ हजार रुपैयाँ अंकित मूल्य दरका ११ लाख इकाई ऋणपत्र निष्काशन गर्नेछ । जसमध्ये ४ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि र ६ लाख ६० हजार कित्ता व्यक्तिगतका लागि छुट्याएको छ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।