काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई नाफामा मात्र ध्यान नदिन निर्देशन दिएको छ । आइतबार जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई समितिमा बोलाएर आक्रामक बिजनेस गरेर नाफामा मात्र केन्द्रीत नभएर गुणस्तरीय सेवामा पनि प्राथमिकता दिन मौखिक निर्देशन दिएको हो ।
‘पछिल्लो समय बीमा कम्पनीहरु बिजनेश बढाउने चक्करमा छन्, जसले अन्डरराइटिङ्ग, सरेन्डर लगायतका विषयहरु बढिरहेका छन्, यस्ता केशहरु न्यूनिकरण गर्न हामी सबैको उत्तरदायित्व हो, कम्पनीहरुले नाफामा मात्र केन्द्रित हुनुभन्दा गुणस्तिरीय सेवामा पनि फोकस गर्नुपर्छ,’ बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाललाई उदृत गर्दै एक जीवन बीमा कम्पनीका सीईओले विकासन्युजसँग भने ।
पछिल्लो समय बीमा क्षेत्रमा फ्रडहरु बढ्दै गएको जानकारी समितिले कम्पनीका सीईओहरुलाई गराएको थियो । शुक्रबार मात्रै एक बीमा कम्पनीले गरेको अण्डराइटिङमा ठूलो त्रुटी गरेको घटना बाहिरिसकेकोको उल्लेख गर्दै अबका दिनमा यस्तो हुन नदिन समेत बीमा समितिले आग्रह गरेको बताइएको छ ।
बारम्बार यस्ता खालका गल्तीहरु दोहोरिएमा समिति तत्काल एक्सनमा उत्रिने बताएको श्रोतको भनाइ छ । यससँगै, अब यस विषयमा जीवन बीमक संघले सबै इन्स्योरेन्सका सीईओहरुसँग थप छलफल गर्नेछ । र, मार्गनिर्देशन तयार पारेर अघि बढ्ने श्रोतले जनाएको छ ।
बीमा समितिले आइतबार ३ बजे सबै जीवन बीमा कम्पनीका सीईओहरुलाई छलफलका लागि बोलाएको थियो । उक्त छलफलमा केही कम्पनीहरुका सीईओहरु मात्र उपस्थित थिए । अधिकांश कम्पनीका सीईओहरु उपत्यका बाहिर भएको र बीमा समितिले अचानक बोलाएको कारणले छलफलमा उपस्थित हुन नसकेको बुझिएको छ ।
सम्बन्धित सामाग्री