काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको आईपीओ मंगलबार बाँडफाँट गरिने भएको छ । कम्पनीको आईपीओ मंगलबार अपरान्ह ४ बजे बाँडफाँट गरिने बिक्री प्रबन्धक बिओके क्यापिटलले जानकारी दिएको छ । कम्पनीको सेयर बाँडफाँट बिओके क्यापिटलको कार्यलय नारायणचौर नक्सालमा गरिनेछ ।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्म मागभन्दा १६.५३ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरङका अनुसार कम्पनीको आईपीओमा १६ लाख १० हजार ९२६ जना आवेदकको आवेदन परेको हो । एक करोड ८० लाख ८१ हजार १८० कित्ताका लागि १ अर्ब ८० करोड ८१ लाख १८ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।
कम्पनीले साउन ९ गतेदेखि साउन १२ गतेसम्म ११ करोड ७६ लाख ७ हजार ३ सय रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयर निष्काशन गरेको थियो । जसमध्ये २३ हजार ५२१ कित्ता कर्मचारीहरुका लागि, ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषका लागि र १० लाख ९३ हजार ७४८ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिमार्फत १० कित्ताका दरले बाँडफाँट गरिनेछ । कम्पनीको सेयर १ लाख ९ हजार ३७४ जना आवेदकले मात्रै प्राप्त गर्नेछन् । १० कित्ताका दरले आईपीओ बाँडफाँट गर्दा ८ कित्ता बाँकी रहन्छन् । ८ जना आवेदकलाई भने बाँकी रहेको ८ कित्ताबाट एकएक कित्ता थप गरेर ११ कित्ता दरले बाँडफाँट गरिनेछ । बाँकी आवेदन दिएका लगानीकर्ताको हात रित्तो हुने देखिन्छ ।