काठमाडौं । नेपाल राष्ट्र बैंकले २०७९ पुस मसान्तभित्र मर्जरमा जाने लघुवित्तहरु विशेष छुट दिने भएको छ । सो अवधिभित्रमा मर्जरमा गई एकीकृत कारोबार सञ्चालन गर्ने लघुवित्तहरुलाई राष्ट्र बैंकले जोखिम भारित सम्पत्ति र लाभांशमा विशेष छुट दिने भएको हो ।
यसअघिको निर्देशिका संशोधन गर्दै राष्ट्र बैंकले उक्त दुई व्यवस्था गरेको हो ।
यससँगै मर्जरमा जाने लघुवित्तहरुले एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म सञ्चालन जोखिमबापत कुल सम्पत्तिको १ प्रतिशत रकम मात्रै जोखिम भारित सम्पत्ति थप गरे पुग्ने छ । यसअघि उक्त छुट २०७९ असार मसान्तसम्मलाई मात्रै थियो ।
त्यसैगरी, मर्जरमा जाने लघुवित्त संस्थाहरूले वार्षिक २० प्रतिशत भन्दा बढी लाभांस (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा प्रस्तावित लाभांशको २५ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नु नपर्ने भएको छ ।
लघुवित्तले उक्त कोषमा छुट्टाउनु पर्ने व्यवस्थालाई केन्द्रीय बैंकले २०८० असार मसान्तसम्मको लागि छुट प्रदान गरेको हो । यसअघिको निर्देशिका संशोधन गर्दै राष्ट्र बैंकले सो व्यवस्था गरेको हो । यसअघि २०७९ असार मसान्तसम्मको लागि मात्र छुट दिएको राष्ट्र बैंकले अब थप एक वर्ष दिने भएको छ ।