काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले सरकारी बीमा कम्पनी (राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी) लाई समितिको क्षेत्राधिकार भित्र किन राखेको भन्दै प्रश्न उठाएका छन् । बुधबार राष्ट्रिय बीमा कम्पनीको नवौं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले सरकारसमक्ष सो प्रश्न गरेका हुन् ।
‘सरकारी कम्पनीले सरकारले सहयोग नगरेसम्म चुक्ता पुँजी वृद्धि नगर्ने रे, सरकारले गर्दैन भने हाम्रो नियमावली भित्र किन राखेको ? राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीलाई केही गर्न नसक्ने भए समितिको क्षेत्राधिकारभित्र किन राख्ने ? झिक्दा हुन्छ,’ उनले भने ।
सरकारी कम्पनीले बीमा समितिको नियमलाई अटेर गरेको र कम्पनीको अहिलेको काम कारवाहीले बाँकी रहेको बीमा बजारलाई बिगार्ने उनले सो बताए । पछिल्लो समय सरकारले कोरोना बीमाको पैसा नदिएकोले बीमा क्षेत्र बदनामी भएको अध्यक्ष सिलवालको दावी छ ।
बीमा समिति सरकारले भनेको निर्देशन मान्न बाध्य छ भने सरकारी बीमा कम्पनीलाई सहयोग गर्ने सरकारको दायित्व रहेको उनको भनाइ छ । साथै, कम्पनीको लेखापरीक्षण समयमै गराई वित्तीय परदर्शीतालाई देखाउने वातावरण पनि सरकारले सिर्जना गरिदिनुपर्ने उनले बताए ।
तोकिएको पुँजी नपुर्याए राष्ट्रिय बीमा कम्पनीको सबै कारोबार रोक्का हुने
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले तोकिएको समयमा पुँजी नपुर्याए कम्पनीको सबै कारोबार रोक्का गरिदिने चेतावनी दिएका छन् । नियामकले सपोर्ट गर्ने ठाउँमा सपोर्ट नै गर्छ र कडाई गर्ने बेलामा पनि कडाई नै गर्छ भन्दै उनले सो बताएका हुन् ।
‘अर्थमन्त्रालयलाई पुँजी वृद्धि गर्नुपर्यो भनेर माग गर्नुस्, मैले तोकेको समयभित्र पुँजी वृद्धि भएन भने कारोबार रोक्का हुन्छ, अर्थमन्त्रालयलाई भनेर हुन्छ की कसरी हुन्छ प्रकृया अघि बढाउनुस्,’ उनले राष्ट्रिय बीमा कम्पनीलाई भने ।
हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँ छ । समितिले तोकेअनुसार कम्पनीले न्यूनतम साढे २ अर्ब रुपैयाँ बराबरको चुक्ता पुँजी पुर्याउनु पर्छ । जसको लागि समितिले २०७९ चैत मसान्तसम्मको समय दिएको छ ।
साथै, समितिका अध्यक्ष सिलवालले अबको २ चार महिना भित्रमा अडिटका सबै काम सक्न समेत कम्पनीलाई आग्रह गरेका छन् । पछिल्लो समय कम्पनीले विगतमा लेखापरीक्षण हुन बाँकी रहेका प्रतिवेदनहरुलाई विशेष प्राथमिकतामा राखेको छ । कम्पनीको सीईओमा ज्ञानेन्द्र राज ओझा आएसँगै कम्पनीले छोटो अवधिमै दुई वर्ष (आर्थिक वर्ष २०७०/७१, २०७१/७२) को लेखापरीक्षण गरिसकेको छ भने आर्थिक वर्ष २०७२/७३ को प्रतिवेदन पास गराउने प्रकृयामा छ ।
कारोना बीमा भुक्तानीको समस्या छिट्टै सल्टिने
अर्थमन्त्रालयका राजश्व सचिव कृष्णहरि पुष्करले कोरोना बीमा भुक्तानीको लागि प्रकृया अघि बढिरहेको र त्यसको समस्या छिट्टै सल्टिने बताए । ‘कारोना बीमा भुक्तानीको लागि अर्थमन्त्रालयले बीमा समितिसँग विभिन्न मोडालिटीमा छलफल गरेको छ, यसलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा अर्थमन्त्रालय करिब निश्कर्षमा पुगिसकेको छ, छिट्टै निर्णय गर्ने छौं,’ पुष्करले भने ।
राष्ट्रिय बीमा कम्पनीको हरेक पक्षलाई सम्बोधन गर्न सरकार तयार रहेको पनि उनले बताए ।
त्यस्तै, कम्पनीका अध्यक्ष राजेश्वर ज्ञवालीले बीमा समितिका अध्यक्षले भनेका विषयलाई मनन् गर्दै अघि बढ्ने बताए । त्यस्तै, कार्यक्रममा कर्मचारी संघ संगठनका प्रतिनिधिले उठाएका विषयलाई पनि मनन गर्ने उनको भनाई छ ।
‘सञ्चालक समिति चिर निन्द्रामा छैन, सबैलाई हित हुने गरी अघि बढ्छ, तर कर्मचारीहरुले अनुशासनमा बसेर तोकिएको काम गर्नुपर्छ, होइन भने कारवाही गर्छौं, पहिला कस्तो थियो थाहाँ भएन, अब त्यसरी चल्दैन,’ उनले भने ।
त्यस्तै, कार्यक्रममा बोल्दै जीवन बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले राष्ट्रिय बीमा कम्पनीलाई नियामकको नियमअनुसार अघि बढ्न आवश्यक रहेको बताएका छन् ।
सम्बन्धित सामाग्री
राष्ट्रिय बीमा कम्पनीलाई सिलवालकाे चेतावनी : तोकेको समयमा पुँजी वृद्धि नगरे कारोबार रोक्ने
कोरोना बीमा पोलिसी ल्याउनेलाई जेल हाल्नुपर्छ, अभिकर्ताको कमिसन बढाऔं : अध्यक्ष ढुंगाना