काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले शुक्रबारको सेयर कारोबार हटाउने तयारी गरेको छ । बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको पुँजीबजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै नेप्सेका उपमहानिर्देशक निरञ्जन फुयालले सो बताएका हुन् ।
‘दुई घण्टाको कारोबार औचित्य नदेखेपछि शुक्रबारको कारोबार हटाउने तयारी गरेको हो,’ फुँयालले भने ।
नेप्सेले परीक्षणको लागि भन्दै गत जेठ महिनादेखि शुक्रबार पनि कारोबार शुरु गरेको थियो । उक्त कारोबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टा हुँदै आएको थियो । तर, सो दिनको कारोबार त्यति प्रभावकारी नभएको र हटाउनको लागि चौतर्फी दवाव आएकोले नेप्सेले हटाउने तयारी गरिरहेको हो ।
त्यस्तै, अन्य देशमा अर्थतन्त्रमा समस्या आयो भने स्टक मार्केट घट्ने गरेको छ तर नेपालमा त्यसको बिपरित हुने गरेको बताउँदै भुकम्प गएको बेला र कोरोना महामारी बेला नेप्से बढेको इतिहास रहेको जानकारी गराए ।
साथै, उनले पुँजीबजार विकासको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)को संरचना बदल्नु पर्ने बताए ।
‘सरकारी कर्मचारीले नेप्से र खाद्य संस्थानलाई एउटै दृष्टिकोणबाट हेर्ने गरेको छ, त्यो सोच बदल्नु पर्छ, सेबोनको संरचना बदल्नु पर्छ, सिडियस एण्ड क्लियरिङ्गलाई खण्ड खण्ड गर्नुपर्छ,’ उनले भने ।
त्यस्तै, मार्जिन लेण्डिङ बैंकबाट नगरी ब्रोकरबाट गर्नुपर्ने उनको भनाई छ ।
‘मार्जिन लेण्डिङ ब्रोकरबाट गर्नु पर्नेमा बैंकबाट गर्दा चार्ज लागेको हो, राष्ट्र बैंकले मार्जिन लेण्डिङ्गलाई ब्रोकर कम्पनीलाई दिनुपर्ने बैंकलाई दिँदा शुल्क बढी लागेको हो,’ फुँयालले भने ।
साथै, उनका अनुसार नेपाली पुँजीबजारमा भेन्चर क्यापिटल इक्विटी, कमोडिटी मार्केट र नयाँ स्टक मार्केट आवश्यक रहेको छ ।