काठमाडौं । एनएमबि क्यापिटलले साउन २६ गतेदेखि म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । क्यापिटलले एनएमबि म्युचुअल फण्ड फण्ड अन्र्तगतको ‘एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२’ साउन २६ गतेदेखि निष्काशन गर्ने भएको हो । १० वर्ष अवधि रहेको एनएमबि सुभल इन्भेष्टमेन्ट फण्ड–२ बन्दमुखि योजना हो ।
क्यापिटलले प्रति इकाई १० रुपैयाँ दरको १२ करोड इकाई निष्काशन गर्न लागेको हो । जसमध्ये १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाई कोष प्रबद्र्धक एनएमबि बैंकलाई, १ प्रतिशत अर्थात १२ लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटललाई र बाँकी १० करोड २० लाख इकाई सर्वसाधाण लगानीकर्तालाई छुट्याइएको छ ।
क्यापिटलको उक्त फण्डमा छिटोमा साउन ३१ गतेसम्म र ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन सकिने छ । म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
फण्डमा लगानीकर्ताले मेरो सेयर तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।
३ वटा फण्डको प्रतिफल
क्यापिटलले यसअघि ३ वटा म्युचुअल फण्ड एनएमबि हाइब्रीड फण्ड एल–१, एनएमबि ५०, एनएमबि सरल बचत–इ र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ संचालन गरिसकेको छ ।
पहिलो म्यूचूअल फण्ड रहेको एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ ले ५ बर्षको अवधिमा इकाईधनीहरुलाई ७७.१० प्रतिशत नगद लाभांस वितरण गरेको छ । यस्तै, एनएमबि हाइब्रीड फण्ड एल–१ का इकाईधनीहरुलाई ५९.०५ प्रतिशत नगद लाभांश र एनएमबि ५० ले ५६.०५ प्रतिशत नगद लाभांश वितरण गरेका छन् ।
