काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (साउन २४ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशत अर्थात् ३ करोड ३१ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो ।
लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गरेको हो । जसमध्ये ०.५ प्रतिशत अर्थात् ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी ३ लाख ८ हजार २९५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ ।
लघुवित्तको आईपीओमा छिटोमा साउन २९ गते र ढिलोमा भदौ ७ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले लघुवित्तको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल रहेको छ । इच्छुक आवेदकले सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्ने छन् ।
लघुवित्तको आईपीओलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ भने आईपीओ निष्काशन पश्चात् १० करोड ३१ लाख रुपैयाँ चुक्ता पूँजी पुग्ने छ ।
लघुवित्तको बारेमा :-
लघुवित्तको रजिष्ट्रार कार्यालय बाग्लुङ्ग नगरपालिका-२, श्रीनगर टोल, बाग्लुङ्गमा रहेको छ । लघुवित्तले ४४ वटा शाखा कार्याल र २ वटा सम्पर्क कार्यलयबाट सेवा प्रदान गर्दै आएको छ । आवश्यकता अनुसार स्वीकृति लिई शाखा, उपशाखा वा अन्य कार्यालय खोली कारोबार गर्न सक्ने लघुवित्तले जनाएको छ ।
विपन्न तथा पिछडिएका समुदायको आर्थिक सामाजिक तथा चेतना विकासका लागि वि.स. २०५२ कात्तिक १२ गते धौलागिरी सामुदायिक स्रोत विकास केन्द्रका रुपमा स्थापना भएको थियो । २०५७ सालमा नेपाल राष्ट्र बैंकबाट वित्तीय करोबार गर्ने इजाजत प्राप्त गरि लघुवित्त कार्यक्रम संचालन गर्दै आएको थियो । तर, कम्पनी रजिष्ट्रारमा वि.स. २०७५ असार १९ गते दर्ता भई राष्ट्र बैंकबाट वि.स. २०७५ माघ २८ गते वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त गरेको थियो । लघुवित्तले फागुन १ गतेदेखी धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट करोबार शुरु गरेको हो ।
लघुवित्तले २१ जिल्लामा ३५ हजार ८६ जनालाई सेवा दिइरहेको छ । लघुवित्तको १७ हजार १३३ जना ऋणी रहेका छन् । वित्तीय विवरण अनुसार लघुवित्तको कूल निक्षेप ६५ करोड ३१ लाख ६६ हजार रुपैयाँ र कर्जा लगानी १ अर्ब ४४ करोड ५६ लाख १८ हजार रुपैयाँ रहेको छ ।
आर्थिक वर्ष २०८०÷०८१ सम्ममा ३ अर्ब ७ करोड २३ लाख २ हजार रुपैयाँ कर्जा विस्तार गर्ने र १ अर्ब ७३ करोड ६५ लाख ९५ हजार रुपैयाँ बचत संकलन गर्ने, आगामी तिन आर्थिक वर्षमा ५० हजार सेवाग्राहीे संख्या पुर्याउने लक्ष्य रहेको छ ।
संचालक समिति र व्यवस्थापन समिति:-
लघुवित्तको अध्यक्षमा ईश्वर लाल राजभण्डारी रहेका छन् । १७ बर्ष लघुवित्त तथा सामाजिक क्षेत्रको अनुभव रहेको उनी धौलागिरी लघुवित्तमा ३ वर्षदेखि अध्यक्ष पदमा छन् । उनको लघुवित्तमा १० हजार कित्ता सेयर रहेको छ ।
यस्तै, सञ्चालकमा सिर्जना थापा, हरि प्रसाद शर्मा, डा. श्री सुदर्शन सिलवाल र उत्तम कुमार राजभण्डारी रहेका छन् । लघुवित्तमा सिर्जना थापा र हरि प्रसाद शर्माको १० हजार कित्ता सेय रहेको छ भने डा. श्री सुदर्शन सिलवाल र उत्तम कुमार राजभण्डारीको ५ हजार कित्ता सेयर स्वामित्व छ । यस्तै, लघुवित्तमा प्रभु बैंकको १ लाख ५० हजार कित्ता र धौलागिरी सामुदायिक स्रात विकास केन्द्रको ३ लाख कित्ता सेयर स्वामित्व छ ।
लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मिन बहादुर बोहरा कार्यरत छन् । स्नातकोत्तर गरेका उनले बैंक तथा वित्तीय क्षेत्रमा २२ वर्ष काम गरेको अनुभव रहेको छ । उनी २०७७ चैत्र २५ गते सीईओमा नियुक्त भएका थिए ।
मानव संशाधन तथा समान्य सेवा विभाग प्रमुखमा लोकेन्द्र पौडल, वित्त तथा योजना विभाग प्रमुखमा रामचन्द्र बास्तोला, आन्तरिक लेखापरिक्षण विभाग प्रमुखमा निर्मल गौतम, असुली तथा जोखिम विभाग प्रमुखा दिल कुमारी श्रीस, सुचना तथा प्रविधि विभाग प्रमुखमा असोक थापा र कर्जा विभाग प्रमुखमा हेमलाल थापा कार्यरत छन् ।
वित्तीय प्रक्षेपण:-
आर्थिक वर्ष २०७८/०७९ देखी २०८०/०८१ सम्ममा क्रमिक रुपमा ५० प्रतिशतले निक्षेपमा बृद्धी हुने, आर्थिक वर्ष २०७८/०७९ मा ५२.१८ प्रतिशत, २०७९/०८० मा ४७ प्रतिशत र आर्थिक वर्ष २०८०/०८१ म ३५ प्रतिशत वृद्धी हुने, तरलतामा राष्ट्र बैंकले व्यवस्था गरेको तरल सम्पत्ति आर्थिक वर्ष २०७८/७९, २०७९/८० र २०८०/८१ को लागि क्रमशः १०.२६, ७.८५ र ४.५२ प्रतिशत कायम हुने प्रक्षेपण गरिएको छ । संस्थाको खुद नाफाको १० प्रतिशत रकम कर्मचारीलाई बोनस र लघुवित्तले आर्जन गर्ने नाफामा ३० प्रतिशत आयकरका लागि छुट्याएको छ ।
नेटवर्थमा औषत प्रतिफलका आधारमा लघुवित्तले आर्थिक वर्ष २०७८/०७९ मा २५.१५ प्रतिशत, २०७९/०८० मा २२.१६ प्रतिशत र २०८०/०८१ मा २३.८० प्रतिशत प्रतिफल वितरण गर्ने प्रक्षेपण गरेको छ ।
लघुवित्तको ३ वर्षको नेटवर्थमा भएको औषत प्रतिफल १९.४१ प्रतिशत रहेको छ । लघुवित्तको आईपीओ निष्काशन गर्नुभन्दा अघि प्रतिसेयर आम्दानी (प्रतिशत) कायम राख्न बृद्धि हुने नेटवर्थमा आवश्यक न्युनतम प्रतिफल २५.७७ प्रतिशत रहेको छ ।
कहाँ लगानी गर्छ ?
लघुवित्तले आईपीओबाट संकल भएको रकमलाई भौतिक पुर्वाधार तथा शाखा विस्तारमा ३१ लाख रुपैयाँ, पशुपालन तथा कृषि कर्जामा २ करोड रुपैयाँ, खुद्रा व्यापार र सेवा कर्जामा ५० लाख रुपैयाँ र साना तथा घरेलु उद्योग कर्जामा ४० लाख रुपैयाँ लगानी गर्ने भएको छ ।