काठमाडौं । मर्जर तथा एक्विजिशनमा जाने संस्थाले प्रारम्भिक समझदारी नभएसम्म गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धमा कुनै पनि सूचना चुहाउन नपाउने भएका छन् ।
नेपाल धितोपत्र बोर्डले संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ (प्रारम्भिक मस्यौदा) सार्वजनिक गर्दै सो व्यवस्था गरेको हो ।
‘गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी जानकारी राख्ने संगठित संस्थाका संचालक, कर्मचारी, तथा अन्य सम्बन्धित पक्षले प्रारम्भिक समझदारी नभएसम्म गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धमा कुनै पनि सूचना तथा जानकारी सार्वजनिक गर्न पाइनेछैन,’ उक्त मस्यौदामा भनिएको छ ।
साथै, यो सम्बन्धमा कुनै पनि सूचना सार्वजनिक नगर्ने सम्बन्धमा संगठित संस्थाका संचालक, कर्मचारी तथा अन्य सम्बन्धित पक्षले संगठित संस्थाको कम्पनी सचिवसमक्ष लिखित प्रतिवद्धता पेश गर्नु पर्ने समेत बोर्डले जनाएको छ ।
लगानीकर्ताको सल्लाह सुझावपछि यसले अन्तिम रुप लिनेछ । बोर्डले सुझावको समय सात दिन तोकेको छ ।