काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्जर तथा एक्विजिशन सम्बन्धी सेयर कारोबार रोक्का निर्देशिकाको प्रारम्भिक मस्यौदा सार्वजनिक गरेको छ ।
लगानीकर्ता तथा सर्वसाधारणको राय सुझाव लिनको लागि बोर्डले बिहीबार उक्त मस्यौदा सार्वजनिक गरेको हो ।
मस्यौदाका अनुसार अब मर्जर तथा एक्विजिशनमा जाने कम्पनीहरुको सेयर कारोबार बढीमा १५ दिन मात्रै रोक्का हुने भएको छ । आधारभूत सेयरधनीहरुको सेयर कारोबार भने मर्जर सम्झौता लगत्तै रोक्का हुने मस्यौदामा उल्लेख छ ।
उक्त मस्यौदा अनुसार मर्जर तथा एक्विजिसनमा जाने कम्पनीले ६ महिनाभित्र एकीकृत कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ ।
यस्तै, बोर्डबाट गाभ्ने/गाभिने वा प्राप्तिका लागि स्वीकृति प्राप्त गरेका संगठित संस्थाले प्रचलित कम्पनी सम्बन्धी कानून बमोजिम एकीकृत व्यवसायिक कारोबारको स्वीकृति प्राप्त गरेपश्चात् सो को जानकारी सहित एकीकृत व्यवसायिक कारोबार गर्ने मितिको जानकारी बोर्ड, धितोपत्र बजार तथा केन्द्रीय निक्षेप कम्पनीलाई दिनु पर्ने व्यवस्था बोर्डले गरेको छ ।
यस्तै, मर्जरपछि कम्पनीको नाम परिवर्तन नभएमा प्राप्ति गर्ने कम्पनीको सेयर कारोबार रोक्का नहुने व्यवस्था बोर्डले गरेको छ ।
मर्जर तथा एक्विजिशनमा जाने संस्थाले प्रारम्भिक समझदारी नभएसम्म गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धमा कुनै पनि सूचना चुहाउन नपाउने भएका छन् ।
साथै, यो सम्बन्धमा कुनै पनि सूचना सार्वजनिक नगर्ने सम्बन्धमा संगठित संस्थाका संचालक, कर्मचारी तथा अन्य सम्बन्धित पक्षले संगठित संस्थाको कम्पनी सचिवसमक्ष लिखित प्रतिवद्धता पेश गर्नु पर्ने समेत बोर्डले जनाएको छ ।
यस्तो छ पूर्णपाठ
[pdf id=345192]