कम्पनीको चुक्ता पुँजी घट्न सक्ने, स्नातकोत्तर पास नभएका व्यक्ति सञ्चालक बन्न नपाउने

<p>काठमाडौं । प्रतिनिधि सभाले बीमा विधेयक, २०७९ पारित गरेको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले बीमा विधेयक, २०७९ लाई बहुमतले पारित गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले बीमा विधेयक २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेसँगै उक्त विधेयक पारित भएको हो । प्रतिनिधिसभाबाट पारित भएको यो विधेयक अब राष्ट्रिय सभाबाट पनि पारित हुनुपर्ने छ । [&hellip;]</p>

काठमाडौं । प्रतिनिधि सभाले बीमा विधेयक, २०७९ पारित गरेको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले बीमा विधेयक, २०७९ लाई बहुमतले पारित गरेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले बीमा विधेयक २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेसँगै उक्त विधेयक पारित भएको हो । प्रतिनिधिसभाबाट पारित भएको यो विधेयक अब राष्ट्रिय सभाबाट पनि पारित हुनुपर्ने छ । त्यसपछि मात्रै लागू हुने छ ।

बीमा विद्येयकमा बीमा समितिलाई बीमा प्राधिकरणको रुपमा रुपान्तरण हुने छ । प्रतिनिधसभाबाट पारित उक्त विधेयकको दफा ३८ मा नेपाल बीमा प्राधिकरणलाई बीमा कम्पनीको चुक्ता पुँजी घटाउन आदेश दिन सक्ने अधिकार दिइएको छ ।

प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि प्राधिकरणले दुई अवस्थामा बीमकको चुक्ता पुँजी घटाउन आदेश दिन सक्ने विधेयकका लेखिएको छ । बीमा कम्पनी समस्यग्रस्त परेको देखिएमा र बीमाको पोर्टफोलिया मध्ये कुनै प्रकारको बीमाको इजाजत खारेज भएमा चुक्ता पुँजी घटाउन प्राधिकरणले आदेश दिन सक्नेछ ।

विधेयकमा बीमकको चुक्ता पुँजी तोकिएको छैन । ‘बीमकको न्यूनतम चुक्ता पुँजी प्राधिकरणले समय समयमा निर्धारित गरे बमोजिम हुनेछ’ भनिएको छ । तोकिएअनुसार चुक्ता पुँजी कायम गर्न नसक्ने बीमकको लाइसेन्स निलम्बन गर्ने अधिकार प्राधिकरणलाई दिइएको छ ।

बीमा समितिको सञ्चालकले निरन्तरता पाउने

यो विधेयक २ वर्षअघि नै पारित हुने चरणमा पुगेको थियो । तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले बीमा समितिको तत्कालिन अध्यक्ष चिरञ्जीवि चापागाईप्रति पूर्वाग्रह राखेर विधेयक पारितसँगै बीमा समितिको सञ्चालक समिति भंग गराउन प्रयास गरेपछि विधेयक अगाडि बढ्न सकेको थिएन । प्रतिनिधसभाबाट पारित विधेयकमा बीमा समितिको सञ्चालक समितिले बीमा प्राधिकरणमा निरन्तरता पाउने व्यवस्था गरिएको छ ।

स्नातकोत्तर पास नभएका व्यक्ति बीमाको सञ्चालक बन्न नपाउने

धनी तर विश्वविद्यालयबाट उच्च शिक्षाको उपाधि नलिएका व्यक्ति बीमा कम्पनीको सञ्चालक वा अध्यक्ष बन्न नपाउने भएका छन् । नयाँ बीमा ऐन लागू भएपछि यो व्यवस्था लागू हुनेछ । बीमा कम्पनीको सञ्चालक बन्न स्नातकोत्तर उपाधि अनिवार्य गरिएको छ । तर चार्टर्ड एकाउन्टेन्सी (सीए) पास गरेकाले सञ्चालक बन्न पाउने प्रष्ट पारिएको छ ।

बीमा कम्पनीको सञ्चालक बन्न सीए, वा बीमा, बैंकिङ, वित्तीय, वाणिज्यशास्त्र, तथ्याङ्कशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा स्नातकोत्तर गरेको हुनुपर्नेछ । विज्ञान लगायत अन्य विषयमा स्नातकोत्तर गरेका व्यक्तिहरु बीमा कम्पनीको सञ्चालक बन्न अयोग्य हुने गरि बनेको विधेयक संसदको अर्थसमितिबाट पारित भएको छ ।

सेयर कारोबारीलाई पनि रोक

नेपाल धितोपत्र बोर्डबाट धितोपत्र कारोबार गर्न अनुमति पाएका व्यवसायीहरुलाई पनि बीमा कम्पनीको सञ्चालक बन्न रोक लगाइएको छ । बीमकको सञ्चालकको कार्यकाल ४ वर्ष हुने र पछि पुनः नियुक्त हुन सक्ने उल्लेख छ । तर विज्ञ सञ्चालक भए बढीमा ४ वर्ष मात्र सञ्चालक बन्न पाउने व्यवस्था गरिएको छ ।

सरकारी निकायमा कर्मचारी वा पदाधिकारी, एकाघर परिवारको दोस्रो व्यक्ति, आधारभूत सेयर नलिएको व्यक्ति, कम्पनीसँग स्वार्थ बाझिएको व्यक्ति बीमा कम्पनीको सञ्चालक बन्न पाउने छैन ।

यस्तै हाल बीमा क्षेत्रमा कार्यरत सर्भेयरहरु क्षेत्र विषेशको आधारमा काम गर्दैनन् । बीमा विद्येयकले सर्भेयरले गर्ने कामलाई विषेश विधागत आधारमा गर्ने व्यवस्था गर्नेछ ।

अहिले बीमा क्षेत्रमा काम गर्ने सर्भेयर सिभिल इन्जिनियरिङ्गसँग सम्बन्धित हो भने उसले मेकानिकल समेतको सर्भे गरेका पाइन्छ । तर, बीमा ऐन आए पश्चात सिभिल इन्जिनियरिङ्ग पढेको सर्भेयरले मेकानिकलमा सर्भे गर्न पाउँदैनन् । बीमा क्षेत्रमा सुशासन कायम गर्ने कुरामा बीमा ऐन केन्द्रित रहेको जानकारहरुले बताएका छन् ।

Share News