काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले सरकारले ल्याएको स्वास्थ्य बीमाले अर्को रुप लिन सक्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित नेपाल उद्योग बाणिज्य महासंघले आयोजना गरेको स्वास्थ्य बीमा सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष क्षेत्रीले सो बताएका हुन् ।
‘हालको स्वास्थ्य बीमालाई व्यवस्थित गर्दै लानुपर्ने देखिन्छ, होइन अहिलेको हिसावले नै जाने हो भने स्वास्थ्य बीमामा पनि कोरोनाको नयाँ रुप आउने देखिन्छ,’ उनले भने ।
उनका अनुसार स्वास्थ्य बीमालाई व्यवस्थित गर्न आधारभूत स्वास्थ्य सेवालाई एक लेभलमा पूर्वाधारको विकास गरेर लानुपर्ने छ । साथै, उनले सरकारको संलग्नता भएको ठाउँमा समस्या देखिने पनि बताए ।
‘कोरोनाको समयमा निर्जीवन बीमा कम्पनीहरुले जति बीमा गरे त्यसले अर्थतन्त्रलाई चलायमान बनायो, तर जहाँ सरकारको संलग्नता हुन्छ, त्यहाँ समस्या देखिएको छ, कारोना बीमा पनि स्वास्थ्यसँग सम्बन्धित भयो भने बोर्डले ल्याएको बीमा पनि स्वास्थ्यसँग सम्बन्धित नै भयो, तर सरकारले समयमा भुक्तानी नगरेकोले सोसँग सम्बन्धित क्षेत्रमा नकारात्मक असर परेको छ,’ सगरमाथा इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिृकत समेत रहेका क्षेत्रीले स्पष्ट पार्दै भने ।
सगरमाथा इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिृकत (सीईओ) समेत रहेका क्षेत्रीले कोरोना बीमा बापत सरकारले कम्पनीहरुलाई करिब १२ अर्ब रुपैयाँ बराबरको भुक्तानी दिन बाँकी रहेको जानकारी गराएका छन् ।
‘कोरानापछि मात्रै करिब ४ पटकसम्म अर्थमन्त्री परिवर्तन भइसकेका छन्, क्लेम सेटलमेन्टको लागि पटक पटक छलफल भइरहेको छ, जताततैबाट पहल भइरहेको छ, तर सरकारले यसको दायित्व छैन पनि भनेको छैन र सेटलमेन्ट पनि गरेको छैन,’ उनले बताए ।
बीमाभन्ने बित्तिकै दावीको विषय उठ्ने भएकाले यसमा सरकार लगायत जिम्मेवारी निकायको विशेष ध्यान पुग्न पर्ने उनको भनाई छ ।
सरकारको स्वास्थ्य बीमालाई ‘यूनिभर्सल हेल्थ कभरेज’ को नाम दिउँ
कार्यक्रममा बोल्दै सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिरेन्द्र वैद्यवारले स्वास्थ्य बीमा बोर्डबाट सञ्चालन भएको स्वास्थ्य बीमालाई यूनिभर्सल हेल्थ कभरेजको नाम दिनुपर्ने माग गरेका छन् ।
‘स्वास्थ्य बीमालाई यूनिभर्सल हेल्थ कभरेज मात्रै भन्नुपर्ने जस्तो लाग्छ, किनभने बीमाको शब्द जोडिदाँ अन्य बीमामा पनि दावी नपाइने हो की भन्ने गलत सन्देश दिएको जस्तो देखिन्छ,’ सुझाव दिँदै उनले भने ।
यूनिभर्सल हेल्थ कभरेजभन्दा राज्यले प्रदान गर्ने स्वास्थ्य सुविधा भन्ने बुझिने उनको भनाई छ ।
साथै, निजी कम्पनीहरुले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमामा समस्या नरहेको उनले बताए । उनका अनुसार बीमा व्यवसाय गर्दै आएका निजी कम्पनीले स्वास्थ्य बीमा अन्तर्गतका बीमितलाई समयमै दावी भुक्तानी गर्न सफल भएका छन् ।