काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले बम्बे स्टक एक्सचेञ्जको सहयोगमा वित्तीय डेरिभेटिभ मार्केट शुरु गरिने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् ।
‘नेपाली बजारमा नयाँ प्रोडक्ट सञ्चालन गर्न डेरिभेटिभ आवश्यक छ, बम्बे स्टकको प्राविधिक सहयोगमा डेरिभेटिभ संचालन गर्छौं,’ उनले भने ।
साथै, उनले वित्तीय डेरिभेटिभ मार्केटको संभाव्यता रहेको समेत बताए ।
उनले पछिल्लो २ वर्षको अवधिमा बजारमा धेरै प्रगति भएको बताए । दैनिक १४ लाख लगानीकर्ताको संलग्नता पुगेकोले बजार ठूलो फड्को मारेको उनको भनाई छ ।
उनले नेपाल धितोपत्र बोर्डको सहयोगमा सहयोगमा बूक बिल्डिङ, मार्जिन लेण्डिङ, लगायतका काम गर्न सफल भएको बताए ।
प्रबिधि प्रयोग गरे पनि समस्या आउने बताउँदै उनले क्लोज आउट हुने समस्यालाई मध्यनजर गरेर अक्सनको शुरु गरेको जानकारी गराए ।
साथै, बजारको विकास तथा विस्तारको लागि पछिल्लो समय नेप्सेले गीत संगीतका माध्यमबाट सेयर सम्बन्धी वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गर्दै आएको छ ।