काठमाडौं । झण्डै एक दशकभन्दा बढी समय अघिबाट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को विकल्प खोज्नुपर्ने आवाज उठ्दै आएको छ । २०६५ सालतिर नेप्सले डिजिटाइजेशनमा पाइला टेक्दै गर्दा लगानीकर्ताको समूहले नयाँ स्टक मार्केट सञ्चालनमा ल्याउनका लागि सरकारसँग माग गरे ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पनि अध्ययन गरेर मात्रै विकल्पका रुपमा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने बताउँदै आएको लामो समय भइसकेको छ । बोर्डले प्रत्येक वर्ष आफ्नो नीति तथा कार्यक्रममा नेप्सेको सुधारका लागि विकल्प खोज्ने बताउँदै आएको छ । तर झण्डै डेढ दशक हुँदा पनि बोर्डले न नेप्सेको विकल्प खोज्न सक्यो, न त आफ्नो नीति तथा कार्यक्रमबाट सो योजना नै हटाउन सक्यो ।
नयाँ स्टक सञ्चालनका लागि लगानीकर्ताबाट आवाज उठ्ने क्रम जारी नै छ । नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष तथा लगानीकर्ता छोटेलाल रौनियारले नेप्सेको मनोमानी अन्त्य गर्न नयाँ स्टक एक्सचेञ्ज ल्याउनुपर्ने बताए । नेप्सेको एकाधिकार तोड्नका लागि भएपनि नयाँ स्टक आउनुपर्ने उनको धारणा छ ।
‘नेप्सेलाई काउण्टर दिन व्यवस्थित भएको स्टक एक्सचेञ्ज आउनुपर्छ, एउटा मात्रै स्टक हुँदा मोनोपोली बढ्यो, जे गरेपनि हुन्छ भन्ने सोच बनाएको छ, एउटा मात्रै स्टक हुँदा राम्रो नराम्रो तुलना गर्ने अवस्था नै भएन, केही समस्या आयो भने पनि सुन्दैन, हामी एक्लै हो भनेर मोनोपोली गर्याे,’ उनले विकासन्युजसँग भने ।
नेप्सेलाई सुधार गर्नुपर्ने र अर्काे स्टक मार्केट आएमा प्रतिस्पर्धी बनाउने गरी संरचना परिवर्तन गर्नुपर्ने उनको भनाइ छ । नयाँ स्टक मार्केट आएमा बाध्यताले नेप्सेले पनि गुणस्तरीय सेवा दिने उनको बुझाई छ ।
‘सुधार गर्नुपर्याे भनेको धेरै भयो, नेप्से सुध्रिनेवाला छैन, काम कछुवा गतिमा छ,’ छोटेलाल बताउँछन् ।
निजी क्षेत्रसँगको सहकार्यमा नयाँ स्टक सञ्चालनमा ल्याउनुपर्ने र पब्लिक लिमिटेडमा स्टक ल्याउन आवश्यक रहेको उनको सुझाव छ । साथै, धेरै कम्पनी नेप्सेमा आउन नचाहेकाले अर्काे नयाँ स्टक आए बजारमा आउने उनी बताउँछन् ।
‘नयाँ स्टक आयो भने उसले नयाँ कम्पनी तथा सेक्टरलाई पहल गरेर पुँजी बजारमा ल्याउँछ र सेबोनसँग राम्रो व्यवस्थापन गरेर नयाँ सुविधा दिन्छ,’ उनले भने ।
नेप्सेले आफ्नो सेवामा ठूलो विकास गरेपनि लगानीकर्ता भने अझै सन्तुष्ट हुन सकिरहेका छैनन् । उनीहरु नेप्सेले परम्परागत शैलीबाट सेवा दिएको बताउँदै जसरी पनि नयाँ स्टक ल्याउन खोजिरहेका छन् । तर, आफूहरुले लामो समयदेखि नयाँ स्टक मार्केट सञ्चालनका लागि माग गरेपनि कुनै सुनुवाइ नै नभएको लगानीकर्ताको गुनासो छ ।
लगानीकर्ता अम्बिका प्रसाद पौडेलले पुँजी बजारको विकासका लागि नयाँ स्टक मार्केट आउनुपर्ने माग पहिलादेखि राख्दै आएको भएपनि सुनुवाइ नभएको गुनासो गरे । सामान्य पुँजी भएको स्टक मार्केटको भविष्य नभएको बताउँदै उनले बलियो संरचना भएका स्टक ल्याउनुपर्ने बताए ।
‘नयाँ स्टक एक्सचेञ्ज स्तरीय स्टक, प्रविधिमैत्री, पुँजीमा बलियो हुनुपर्छ, २-३ करोड पुँजी भएको स्टक चल्दैन, नयाँ स्टक सञ्चालन गर्छु भनेर कोही आउँछ भने ल्याउन दिनुपर्छ, नयाँ आउने स्टक संस्थागत रुपमा मजवुत हुनुपर्छ, टिका लगाएर हुँदैन, विदेशी रणनीतिक साझेदार ल्याउनुपर्छ, प्रविधि र ज्ञानका लागि स्थापित भएको देशलाई दिनुपर्छ,’ उनले भने ।
ब्रोकर एशोसिएशनका पूर्व अध्यक्ष भरत रानाभाट भने नयाँ स्टक एक्सचेञ्जको आवश्यकता नरहेको बताउँछन् । नेप्सेलाई नै व्यवस्थित गरेर लैजानुपर्ने उनको धारणा छ । नेप्सेमा रणनीतिक पार्टनर ल्याएर अझै व्यवस्थित गर्न सकिने उनको बुझाइ छ ।
‘नेप्सेको सुधार गर्नुपयो, रणनीतिक पार्टनर ल्याएर नेप्सेको विकास नगर्दासम्म अर्काे आवश्यक छैन, नयाँ स्टक पनि यस्तै भयो भने के हुने ?’ उनले प्रश्न गरे ।
३ सय कम्पनी मात्रै सूचीकृत भएको बजारमा बजार पुँजीकरण र दैनिक कारोबार हेर्दा आवश्यक नपर्ने ब्रोकर रानाभाटको भनाइ छ ।
‘सफ्टवेयर परिवर्तन गरेर नेप्सेलाई चुस्त दुरुस्त बनाउनुपर्याे, सेवा छिटो छरितो दिनुपर्यो, नयाँ स्टक ल्याएर चल्न नसकेर मर्जमा जानुभन्दा नेप्सेलाई सुधार गरौं, विदेशी पार्टनर ल्याएर सिस्टम परिवर्तन गर्नुपर्याे, क्यापिटलदेखि अन्य कुरामा नेप्से आफै सक्षम छ,’ उनले भने, ‘पहिलो प्राथमिकता नेप्सेलाई दिनुपर्छ, नेप्सेलाई बचाउनु पर्छ, सरकारी संस्था भएरपनि नाफा आर्जन गरेर सरकारलाई कर र लाभांश दिइरहेको छ ।’
सरकारले पुँजी बजार सुधारका लागि २०५० सालमा धितोपत्र विनिमय केन्द्रलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा परिणत गरेको थियो । तर, नेपालमा १९९० को दशकबाट धितोपत्र बजारको सुरुवात भएको देखिन्छ । आफ्नो सेवालाई प्रविधिमैत्री बनाउँदै आएको नेप्सेको विकल्प खोजिनुमा बिडम्बना भएको अर्काथरी लगानीकर्ता बताउँछन् । पुँजी बजारमा नयाँ स्टक ल्याउनुपर्छ भन्ने बहस चलिरहेका बेलामा भने केही व्यक्ति आवश्यक नभएको बताउँछन् ।
अहिलेको बजारको आकारका आधारमा नयाँ स्टक मार्केट आवश्यक नरहेको नेप्सेका अधिकारीहरु बताउँछन् । बजारमा धितोपत्र बोर्डले मार्केटको सेवा शुल्क निर्धारण गर्ने भएकाले नयाँ स्टक आउँदा पनि प्रतिस्पर्धा नरहने नेप्सेका एक अधिकारीले बताए ।
‘कुनै वस्तु र सेवाको गुणस्तर निर्धारण र शुल्क तोक्ने बजारले हो, त्यसको लागि प्रतिस्पर्धा गर्नपर्छ, तर नेपालमा बजार र प्रतिस्पर्धाका आधारमा शुल्क निर्धारण हुँदैन,’ उनले भने, ‘यहाँ त कसको कमिसन कति भनेर धितोपत्र बोर्डले सबै तोकिदिन्छ, नेप्से र ब्रोकरले लिने सेवा कस्तो हुने भनेर बोर्डले तोक्छ, भोलिका दिनमा नयाँ स्टक आयो भने पनि शुल्क निर्धारण धितोपत्र बोर्डले तोक्ने हो, त्यो बेला प्रतिस्पर्धा भयो त ?’
विश्वका २ सय देशमा १५० वटा मात्रै स्टक मार्केट सञ्चालनमा छन् । तर, अन्य बैंक तथा वित्तीय संस्थाका लाखौं संख्या छन् । किनभने त्यो क्षेत्र र यो क्षेत्र फरक भएकाले प्रतिस्पर्धी नभएको उनको बुझाइ छ ।
‘पुँजी बजार वास्तवमै विशिष्ट क्षेत्र हो, अन्य क्षेत्रमा जस्तो प्रतिस्पर्धा स्टक मार्केटमा हुँदैन, स्टक एक्सचेञ्जको बिजनेशमा कमर्शियल अप्रेशन र रेगुलेटरी क्रियाकलाप हुन्छ, रेगुलेटरी क्रियाकलाप जोडिएका क्षेत्रमा प्रतिस्पर्धा नहुने भएकाले अधिकांश देशमा एउटा मात्रै स्टक एक्सचेञ्ज सञ्चालनमा छन्,’ ती अधिकारीले भने ।
पाकिस्तानमा पहिला ३ वटा थियो । पछि मार्केट नभएपछि मर्ज गराएर एउटा मात्रै स्टक सञ्चालनमा ल्याएको थियो । यता ठूलो जनसंख्या भएका देश चाइना र भारतमा २ वटा मात्रै स्टक एक्सचेञ्ज सञ्चालनमा छन् ।
नयाँ स्टक ल्याउनुभन्दा बरु नेप्सेलाई नै निजीकरण गर्नुपर्नेमा नेप्से अधिकारीहरुको धारणा छ । ‘मार्केटको साइजले नयाँ स्टकको डिमाण्ड नै गर्दैन, नेप्सेलाई निजीकरण गर्दा हुन्छ, जसले नयाँ स्टक खोल्न चाहेका छन् उनीहरुलाई सेयर लिलाम बढाबढ गरेर नेप्सेको सेयर बिक्री भइहाल्यो नी,’ नेप्सेका ती अधिकारीले बताए ।
नयाँ स्टक एक्सचेञ्ज अहिलेको बजारले माग नगरेपनि सीमित व्यापारीको स्वार्थका लागि मात्रै आउन सक्ने सेयर बजार जानकारहरु बताउँछन् । नयाँ स्टक ल्याएर नेप्सेलाई डुबाउन चाहेको उनीहरुले बताए ।
‘पुँजी बजारको सुधार गर्नलाई भन्दा पनि राजनीतिका आडमा केही व्यवसायी हावी भएका कारण नयाँ स्टक आउनु पर्ने दवाव छ, नेप्सेसँग २०-२२ अर्बको सम्पत्ति छ, भोलिका दिनमा नयाँ स्टक आयो भने यसलाइ बाँकी राख्दैनन्, नेप्सेको सम्पत्ति शुन्य पार्छन्,’ उनले भने,’ ‘सरकारको ५८ प्रतिशत सेयरमा १० प्रतिशत राखेर ४८ प्रतिशत बिक्री गर्ने हो सबै काम हुन्छ, नेप्सेको बोर्ड परिवर्तन हुन्छ, बोर्डले सीईओ नियुक्त गर्छ ।’
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल नयाँ स्टक एक्सचेञ्ज ल्याउनमा सकारात्मक रहेको बोर्डका एक कर्मचारी बताउँछन् । अध्यक्ष हमाल पनि सकारात्मक रहेको बताउँदै ती कर्मचारीले भने उनको भिजन हेर्दा नयाँ स्टक आउन सक्छ । ‘अध्यक्ष हमालले आफ्नो कार्यकालसम्म नयाँ स्टक ल्याउँछन्, चुनाव पछि भने प्रक्रिया अघि बढ्छ,’ ती कर्मचारीले भने ।
नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक तथा प्रवक्ता रुपेश केसीले नयाँ स्टक एक्सचेञ्ज ल्याउने भनेर नीति तथा कार्यक्रममा उल्लेख गरेको भएपनि कुनै कार्य अघि नबढेको बताए । बोर्डले नेप्सेलाई प्रतिस्पर्धी बनाएर लगानीकर्तालाई छिटोछरितो सेवा दिन चाहेको उनले बताए । अर्काे स्टक आउँदा प्रविधिसहित आउने भएकाले प्रविधिमैत्री हुने उनको भनाइ छ ।
धितोपत्र बोर्डले नयाँ स्टक ल्याउँदा लगानीकर्ता, धितोपत्र बोर्डका विज्ञ समूह लगायत सबै सरोकारवालासँग बसेर छलफल गर्ने उनले बताए । तर, हालसम्म कुनै छलफल समेत नभएकाले मूर्त रुप दिन नसकिएको उनको भनाइ छ ।
‘२०६५ सालदेखि नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर सुधार गर्ने, नयाँ स्टक आवश्यक छ भनेर प्रतिवेदनहरुमा उल्लेख छ, नेप्सेम संरचनामा सुधार हुन सकेन, राष्ट्र बैंकले केही सेयर बिक्री गर्याे, धेरै सेयर स्वामित्व नेपाल सरकारको छ, रणनीतिक साझेदार भित्र्याएर सुधार गर्ने भनिएपनि कार्यान्वयन हुन सकिरहेको छैन्,’ उनले भने ।