काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग र नेपाल बङ्गलादेश क्यापिटलबीच अनिवार्य मर्ज गर्नुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डको नियम अनुसार यी दुइ मर्चेन्ट बैंकबीच अनिवार्य मर्जरमा जानु पर्ने भएकाे हाे । यी मर्चेन्ट बैंकका माउ कम्पनी नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभेपछि यी दुई मर्चेन्ट बैंकबीच पनि मर्ज हुनुपर्ने बाध्यता आएकाे हाे ।
धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ को नियम २९ को ‘क’ मा कम्पनी एक आपसमा गाभिन वा कुनै एकले प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ ।
नियमावलीको नियम २९ को ‘क’ (१) मा सहायक कम्पनी स्थापना गरी मर्चेन्ट बैंकिङ्ग व्यवसाय सञ्चालन गरिरहेका बैंक वा वित्तीय संस्था एक आपसमा गाभिएमा वा कुनै एकले प्राप्त (मर्जर वा एक्विजिसन) गरेमा एक मात्र सहायक कम्पनी कायम गरी मर्चेन्ट बैंकिङ्ग व्यवसाय सञ्चालन गर्नु पर्ने व्यवस्था गरिएको छ ।
नेपाल बङ्गलादेश क्यापिटलमा तत्कालीन नेपाल बङ्गलादेश बैंकको सेयर स्वामित्व र नबिल इन्भेष्टमेन्टमा नबिल बैंकको सेयर स्वामित्व छ । सोही कारण यी दुई मर्चेन्ट बैंकबीच मर्ज हुनै पर्ने भएको हो । साथै, अबको ५ महिनाभित्र मर्ज तथा प्राप्ति भइसक्नुपर्ने बाध्यता छ ।
धितोपत्र व्यवसायी नियमावली, २०६४ को उपनियम २ मा गाभिने वा प्राप्त गर्ने कार्य सम्पन्न भएको ६ महिनाभित्र मर्चेन्ट बैंकिङ्ग व्यवसायको लागि एक मात्र सहायक कम्पनी कायम गरी सक्नु पर्ने उल्लेख छ । अर्थात् बैंक तथा वित्तीय संस्था वा माउ कम्पनीबीच एकीकृत कारोबार भएको ६ महिनाभित्र सहायक कम्पनी वा मर्चेन्ट बैंक पनि मर्ज हुनैपर्ने नेपाल धितोपत्र बोर्डले बताएकाे छ ।
नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरेर एकीकृत कारोबार गरेको एक महिनाभन्दा बढी भइसकेको छ । दुबै बैंकबीच गत असार २७ गते एकीकृत कारोबार भएको थियो । सोही कारणले पनि बङ्गलादेश क्यापिटल र नबिल इन्भेष्ष्टमेन्ट बैंकिङ्गबीच अबको ५ महिनाभित्र मर्ज हुनै पर्नेछ ।
यदि ५ महिनाभित्र दुबै मर्चेन्ट कम्पनी मर्ज वा एक्वीजिशन नभएमा धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम कारवाही हुने बोर्डले बताएको छ ।
नेपाल बङ्गलादेश क्यापिटलमा एनबी बैंकको शतप्रतिशत लगानी रहेको छ भने नबिल इन्भेष्टमेन्ट बैंकिङ्गमा नबिल बैंकको ५२ प्रतिशत र सि.जी फिन्कोे ४८ प्रतिशत सेयर सेयर स्वामित्व छ । दुबै मर्चेन्ट बैंकको चुक्ता पूँजी २०/२० करोड रुपैयाँ छ ।
नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनिस नारायण जोशीले मर्जर सम्बन्धी निर्णय संचालक समितिले गर्ने बताए । पूँजी बढाएर अघि बढ्यो भने कम्पनी बलियो बन्ने उनको भनाइ छ ।