काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार हुने सेयर कारोबार हटाउनु पर्ने माग लगानीकर्ताहरुले गरेका छन् । शुक्रबारको कारोबार हटाएर अन्य कोरोबार दिनको समय थप गर्नुपर्ने माग लगानीकर्ताहरुले गरेका हुन् । शुक्रबारका दिन कारोबार त्यति प्रभावकारी नभएको र सो दिनको कारोबार हटाउनको लागि लगानीकर्ताले चौतर्फी दवाव दिइरहेका छन् ।
पेट्रोलियम पदार्थको खपत घटाउन सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि नेप्से कारोबारको समय तालिका नै परिवर्तन भएको थियो । सरकारले शनिवार र आइतबार सार्वजनिक विदा दिएपछि आइतबारको सेयर कारोबार शुक्रबार सारिएको थियो । तर, सरकार आफै २ दिन विदा दिने निर्णयबाट पछि हटेपछि नेप्सेले शुक्रबार २ घण्टा कारोबार थप गरेको थियो । सो दिनको कारोबार हटाउन लगानीकर्ताले माग गरिरहेका छन् भने नेप्से पनि आफै हटाउने मनसायमा देखिन्छ ।

लगानीकर्ता छोटेलाल रौनियारले शुक्रबारको कारोबार हटाउनै पर्ने धारणा राखे । शुक्रबारको कारोबारले लगानीकर्तामा नकरात्मक प्रभाव परेको बताउँदै उनलेकसरी शुक्रबार पनि कारोबार गर्ने निर्णय गर्याे भनेरप्रश्न गरे ।
‘शुक्रबार २ घण्टा कारोबार गरेर नेप्सेले गलत गर्याे, अन्तर्राष्ट्रिय अभ्यासमा हप्तामा ५ दिन मात्रै सेयर कारोबार हुन्छ, सेबोन र नेप्सेसँग ५ दिनको कारोबार ठिक हो भनेका छौं,’ उनले भने, ‘पहिले त हटाउने भनेको थियो, नेप्सेले कसरी यो निर्णय गर्याे ?लगानीकर्ता शुक्रबारको कारोबारको विरुद्धमा छन् ।’
शुक्रबारको कारोबारले नेप्सेको लागत मात्रै बढेको उनको बुझाइ छ । ब्रोकर लगायत सबै कम्पनी संलग्न हुने भएको हामी पनि बाध्यताले मात्रै हेर्नुपरेको गुनासो गरे ।
‘बरु सातामा पाँच दिन हुने कारोबारलाई व्यवस्थित गर्नुपर्याे, अझै व्यवस्थित गर्न दैनिक पाँच घण्टा कारोबार हुने बनाउनुपर्छ, शुक्रबारको कारोबार बन्दै गर्नुपर्छ,’ उनले भने, ‘मार्केटमा लगानीकर्ताको मनोबल कमजोर भएकाले मनोबल बलियो भएका बेलामा पाँच घण्टा थप्नुपर्याे, पूँजी बजारको प्रमुख पात्र र अहम पात्र भनेका लगानीकर्ता हुन्, मार्केट राम्रो भएका बेलामा एक घण्टा बढाइ दियो भने लगानीकर्ताले स्वागत गर्छन् ।’
अहिले नेप्से ११ बजेदेखि ३ बजेसम्म भइरेको छ भने शुक्रबारका दिन ११ बजेदेखि १ बजेसम्म कारोबार हुँदै आएको छ ।
लगानीकर्ता अम्बिका पौडेलले शुक्रबारको कारोबार आवश्यक नभएको तर्क गरे । यसअघि हप्तामा २ दिन विदा दिएको हुनाले शुक्रबार कारोबार भएको थियो । आइतबार कारोबार हुँदैन भनेर ल्याएको भएपनि आइतबार पनि कारोबार शुरु भइसकेकाले नेप्सले आफै मनन गरेर हटाउनु पर्ने उनले माग गरे ।
उनले पनि अहिलेको समय बढाउनुपर्नेमा आफ्नो धारणा राखे । ‘पहिला पनि बढाएको हो, चार घण्टाको सेयर कारोबारलाई ५ घण्टा बनाइ दिनुपर्याे,’ उनले भने ।
ब्रोकर एशोसियसनका पूर्व अध्यक्ष भरत रानाभाटले पनि शुक्रबार सेयर कारोबार गर्दा कुनै गाह्रो नपर्ने बताए । बैंक तथा वित्तीय संस्था शुक्रबार आधा दिन सञ्चालन हुने भएकाले नेप्से कारोबार गर्दा कुनै समस्या नहुने उनले बताए ।
‘अन्तर्राष्ट्रिय अभ्यास अनुसार हप्तामा पाँच दिन मात्रै कारोबार हुन्छ, अहिले बैंकहरु पनि आधा दिन खुल्ने भएकाले शुक्रबार कारोबार खुलाउँदा त्यति धेरै गाह्रो हुँदैन,’ उनले भने, ‘शुक्रबार कारोबार खुलाउँदा लागत बढ्दैन, शुक्रबार अफिस खुला नै हुन्छन् ।’
सातामा २ दिन कारोबार बन्द भएपनि एक दिन अध्ययन गर्न पाइने भएकाले पनि शुक्रबार बन्द गर्दापनि उपयुक्त हुने उनको भनाइ छ ।
‘शुक्रबार बन्द हुँदा अध्ययन गर्न पाइन्छ, पाँच दिन कारोबार हुँदा कुनै आपत्ति छैन्, हामीले राख्नु भनेको पनि होइन, हटाउ पनि भनेको छैन्, नेप्सेले हटाउँछ भने आपत्ति छैन्, कारोबार हटाउँदा शुक्रबारको सेटलमेन्ट पनि हटाइ दिए राम्रो,’ उनले भने ।
नेप्सेका उपमहानिर्देशक निरन्जन फुयालले गत साउन १९ गते सार्वजनिक कार्यक्रममा बोल्दै शुक्रबारको कारोबार हटाउने बताएका थिए । तर, तीज साताभन्दा बढी समय हुँदा पनि शुक्रबारको कारोबार हटाइएको छैन ।
शुक्रबारको कारोबार बन्द गर्ने भनेर प्रक्रिया अगाडि बढाएको भएपनि नेप्सेको बोर्डले निर्णय नगरेको उनले बताए । एक महिना अघि कारोबार गर्नुपर्छ भन्ने एक महिनापछि हटाउ भन्नलाई कारण चाहियो भनेर बोर्डले प्रस्ताव फिर्ता गरेको उनको भनाइ छ ।
‘शुक्रबारको कारोबार बन्द गर्न बोर्डमा प्रस्ताव गरेका थियौं, बोर्डले हालै शुक्रबार कारोबार गर्ने भनेर निर्णय गर्याे, फेरि यति छिट्टै किन बन्द गर्नुपर्याे भन्दै कारण खोज्यो,लगानीकर्ताबाट गुनासो आयो की ?’ उनले भने, ‘हामीले लगानीकर्ताले मौखिक गुनासो गरेका थिए भन्दा लिखितमा गुनासो दिनुपर्याे भन्यो, सेबोनले पनि मौखिकमा हटाउनुपर्छ भनेर सुझाव दिएको थियो ।’
अब अर्काे बोर्ड बैठकमा यही प्रस्ताव लगिने उनले बताए । शुक्रबार कारोबार हुँदा नेप्सेको सिस्टम अपडेट गर्न गाह्रो हुने गरेको उनको भनाइ छ ।
‘नेप्सेलाई प्राविधिक रुपमा गाह्रो भएको छ, सिस्टम अपडेट गर्नका लागि २ दिन विदा अनिवार्य चाहिन्छ, प्राविधिक कारणले पनि नेप्से कारोबार २ दिन बन्द हुनुपर्छ, सिस्टम आफै चल्दैन,’उनले भने, ‘सिस्टममा कहिलेकाहीँ अपडट गर्दा फूल डाउन गर्नुपर्छ,२ दिन बिदा हुँदा टेस्ट गर्न समय पुग्छ, एक दिन मात्रै हुँदा गाह्रो भइरहेको छ ।’
उनले शुक्रबारको कारोबार हट्ने बताए । तर, कारोबार बन्द हुनका लागि समय लाग्ने उनको भनाइ छ । लगानीकर्ताले लिखित माग नगर्दासम्म यो कार्यान्वयन हुन नसक्ने उनले बताए । तर, अन्य दिनमा कारोबार समय बढाउन भने असम्भव रहेको उनको भनाइ छ ।
‘कारोबार बढ्दैमा समय थप गर्ने र कारोबार घट्दा कारोबार समय घटाउने भन्ने हुँदैन्, लगानीकर्ताको संख्या धेरै र कारोबार भोलुम धेरै भएर दबाब भयो भने मात्रै समय बढाउन सकिन्छतर, अरु बेलामा समय थपघट गर्न सकिन्न,’ उनले भने ।
लगानीकर्ता र नेप्सले २ घण्टा अवधिको कारोबार औचित्य नदेखेपछि शुक्रबारको कारोबार हटाउने तयारी भएको हो ।