
काठमाडौं । मंगलबारको बजारमा हाइड्रो पावर कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढ्दो छ । सो दिन ‘टप गेनर’ र ‘टप ट्रनओभर’ दुबैमा हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेका छन् ।
दिनभरको कारोबारमा बढी कारोबार गर्नेको शीर्ष तीन स्थानमा हाइड्रो कम्पनी रहेका छन् । त्यस्तै, बढी प्रतिशतले सेयर मूल्य बढ्नेको सूचीमा पनि तीन वटै हाइड्रोका कम्पनी रहेका छन् ।
सबैभन्दा बढी कारोबार गर्नेमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी रहेको छ । कम्पनीको एकैदिन १४ करोड २१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य भने ३ रुपैयाँले घटेर प्रतिकित्ता २३२ रुपैयाँमा किनबेच भएको छ ।
त्यस्तै, बढी कारोबार गर्नेको दोश्रोमा रिडी र तेश्रोमा अपि पावर कम्पनी रहेका छन् । यी दुई कम्पनीको क्रमशः ७ करोड ६५ लाख र अपि पावरको ५ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएका छन् । यी दुबैको सेयर मूल्य भने बढेर क्रमशः प्रतिकित्ता ६१५ र २७६.९० रुपैयाँ पुगेको छ ।
मंगलबारको बजारमा रुरु जलविद्युत परियोजना, मन्दाकिनी हाइड्रोपावर र अपर हेवा हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी तीन कम्पनीको सेयर मूल्य क्रमशः १० प्रतिशतले बढेर ९०९.७० रुपैयाँ, ९.९९ प्रतिशतले बढेर ३८२ रुपैयाँ र ९.९७ प्रतिशतले बढेर ३०१.२० रुपैयाँ पुगेको छ ।
प्रतिशतको आधारमा सबैभन्दा बढी सिद्धार्थ इक्विटी फण्ड घटेको छ । अघिल्लो दिनको तुलनामा उक्त फण्ड ६.८८ प्रतिशतले घटेर प्रतिइकाई ८.९४ रुपैयाँमा झरेको छ ।
समग्रमा मंगलबारको नेप्से परिसूचक सामान्य अंकले बढेको छ भने कारोबार रकम भने घटेको छ । परिसूचक ०.०९ प्रतिशतले बढेर २०५४.९८ अंकमा पुगेको छ ।
त्यस्तै, अघिल्लो दिन १ अर्ब ७२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा मंगलबार घटेर १ अर्ब ३३ रुपैयाँमा झरेको छ ।